प्रधानमन्त्री ओलीको टिप्पणी: कांग्रेसले छाती पिटेको देख्दा अचम्म लाग्छ
काठमाडौं, चैत १४: प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा विखण्डनवादलाई समाप्त पार्न खोज्दा पनि कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीले छाती पिट....

काठमाडौं, चैत १४: प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा विखण्डनवादलाई समाप्त पार्न खोज्दा पनि कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीले छाती पिटिरहेको आरोप लगाएका छन्।
बिहीबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश ३ कमिटीको पहिलो बैठकलाई सम्बोधन गर्दै नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले मुलुकमा वितण्डा मच्याएर विखण्डन गर्न खोज्नेलाई नियन्त्रणमा लिँदा पनि लोकतान्त्रिक पार्टीले निहुँ खोजिरहेको आरोप लगाएका हुन्।
उनले भने,‘सरकारले मुलुकलाई विखण्डनवाद तिर लैजाने समूहलाई नियन्त्रण गर्न खोजिरहेको छ। तर, आफूलाई लोकतान्त्रिक भन्ने पार्टीले छाती पिटेको देख्दा अचम्म लाग्छ।’
उनले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा एउटा गिरोह भएको बताए। उनले भने,‘ मुलुकमा वितण्डा मच्याउने विप्लव समूह गिरोह हो। दल भए निर्वाचन आयोग, सिडिओ कार्यालयमा दर्ता हुनु पर्दथ्यो। तर, विप्लवको पार्टी कुनै घरमा छ।’ प्रधानमन्त्री ओलीले कम्युनिष्टको खोल ओढेर जथाभावी गर्न पाइन्छ भन्ने नसोच्न विप्लवलाई चेतावनी दिए।











