तीव्र गतिमा बहुआयामिक विकास गर्नुको विकल्प छैन : प्रधानमन्त्री
काठमाडौं, चैत १४ : प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार राजनीतिक अधिकार प्राप्तिका प्रयासलाई संस्थागत गरेर सुशासन र विकासमा केन्द्रीत भएको बता....

काठमाडौं, चैत १४ : प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार राजनीतिक अधिकार प्राप्तिका प्रयासलाई संस्थागत गरेर सुशासन र विकासमा केन्द्रीत भएको बताएका छन् । आर्थिक उन्नतिका लागि लामो समय पर्खन नसकिने जनाउँदै उनले ‘सुखी नेपाली, समृद्ध नेपाल’ को राष्ट्रिय आकांक्षा प्राप्त गर्न तीव्र गतिमा बहुआयामिक विकास गर्नुको विकल्प नभएको बताए।
उद्योग वाणिज्य महासंघद्वारा आयोजित ‘आठौँ अन्तर्राष्ट्रिय व्यापार मेला, २०१९’ को बिहीबार उद्घाटन गर्दै उनले शान्ति सुव्यवस्था, सुशासनमार्फत विकासका गतिलाई तीव्रताका साथ अघि बढाइने बताए । नेपाल विकासका लागि प्रचुर सम्भावनायुक्त मुलुक भएको स्पष्ट पार्दै प्रधानमन्त्रीले भभे, ‘नेपाल प्राकृतिक स्रोत र खनिजले युक्त छ, अत्यन्त उर्वर भूमि र प्रकृति छ, विकासका लागि क्रियाशील युवा जनशक्ति छ, उपलब्ध स्रोत साधन र क्षमताको प्रयोगबाटै मुलुकको विकास गरिन्छ ।’
सरकारले मुलुकको विकासका लागि स्वदेशी लगानीलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्रीले भने, ‘देशभित्रको लगानी, साधनस्रोतको परिचालन र प्रविधिको प्रयोग तथा जनशक्तिको सदुपयोग गर्न सरकार गम्भीर छ । सकेसम्म हामी आफैँ सबल हुने साधन, स्रोत र सामथ्र्यको प्रयोग गर्ने हो । स्वदेशी पूँजी र प्रविधिको प्रयोगबाट समृद्धि ढिला हुने भएकाले विदेशी पूँजी र प्रविधि भित्र्याउनु परेको हो ।’
बाह्य लगानीलाई आकर्षित र सुरक्षित गर्ने वातावरण सिर्जना गरी लगानीका लागि नेपाल उपयुक्त मुलुक हो भन्ने प्रमाणित गराउन सरकार क्रियाशील रहेको बताउँदै प्रधानमन्त्री ओलीले विदेशी लगानीकर्ताको लगानी प्रतिफलदायी, सुरक्षित, पूँजी र प्रतिफल आफ्नो देशमा लैजान सक्ने हेतुले कानूनी, प्राविधिक, व्यावहारिक वा प्रशासनिक व्यवधान सरलीकरण गरिएको वाचा गरे । उनले भने, ‘विदेशी लगानीकर्ता आकर्षित गर्न कानून परिवर्तन गरेका छौँ, अनुकूल वातावरण निर्माण गरेका छौँ । लगानीकर्तालाई कुनै असुविधा नहोस् भनेर एकल सेवा बिन्दु (वान स्टेप सेन्टर) स्थापना गरेका छौँ । दोहोरो कर प्रणाली अन्त्य गर्न विभिन्न देशसँग समझदारी गरिएको छ।’
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले निजी क्षेत्रको सहभागिताबिना मुलुकको विकास सम्भव नभएको उल्लेख गर्दै सरकार र निजी क्षेत्रका व्यवसायी बीचको एकता अहिलेको आवश्यकता भएको बताए । उनले अन्तर्राष्ट्रिय व्यापार मेलाले शुक्रबारदेखि शुरु हुने अन्तर्राष्ट्रिय लगानी सम्मेलनलाई सफल बनाउन सहयोग मिल्ने विश्वास व्यक्त गरे।
महासंघका अध्यक्ष भवानी राणाले नेपालको व्यापार घाटा न्यूनीकरण गर्न आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्नुको विकल्प नभएको जिकीर गर्दै स्वदेशी उत्पादनलाई विश्व बजारमा स्थापित गर्न मेला उपयुक्त अवसर भएको बताइन् । (रासस)











