Kathmandu Press

विपन्न परिवारको घरमा सित्तैमा विद्युत मिटर जडान

काठमाडौै, चैत १४ :  आर्थिक अवस्था कमजोर भएका विपन्न परिवारको घरमा नेपाल विद्युत प्राधिकरणले सित्तैमा विद्युत मिटर जडान गर्न थालेको छ । जनकपुर क्ष....

विपन्न परिवारको घरमा सित्तैमा विद्युत मिटर जडान

काठमाडौै, चैत १४ :  आर्थिक अवस्था कमजोर भएका विपन्न परिवारको घरमा नेपाल विद्युत प्राधिकरणले सित्तैमा विद्युत मिटर जडान गर्न थालेको छ । जनकपुर क्षेत्रीय कार्यालयबाट यसको शुरुआत गरिएको छ।

विपन्न वर्गले प्राधिकरणको मापदण्डअनुसारको ५–३० एम्पिएर क्षमताको बक्ससहितको  सिंगल फेज इनर्जी मिटर, एमसीबी बक्स निःशुल्क पाउने छन् । प्राधिकरणले मिटर जडानका लागि सेवा शुल्क लिँदैन । सम्बन्धित स्थानीय तहले उपलब्ध गराएको विपन्न वर्गको सिफारिसका आधारमा प्राधिकरणले निःशुल्क मिटर जडान गर्ने जनाएको छ।

मिटरको एक हजार नौ सय ३५ रुपैयाँ, एमसीबीको मूल्य, अधिकतम दुई वटा पोल (करिब एक सय मिटर) सम्मको सर्भिस केबल, जडान गर्दा लाग्ने सेवा शुल्कसहित नयाँ मिटर जडान गर्दा लाग्ने जम्मा तीन हजारदेखि तीन हजार पाँच सय रुपैयाँबराबरको लागत विपन्न वर्गले निशुल्क पाउने छन् । यो रकम जुटाउन नसक्दा त्यस्ता समुदायले चोरी (हुकिङ)मार्फत विद्युत प्रयोग गर्दै आएको पाइएको थियो।

प्राधिकरणका कार्यकारी निर्देशक कुलनमान घिसिङले मुलुकभर रहेका वितरण केन्द्रका संजालमार्फत विभिन्न वर्गलाई निःशुल्क वितरण भइरहेको जानकारी दिए । ‘पैसा अभावमा मिटर राख्न नसकेपछि विपन्न वर्गले हुकिङ गरी विद्युत् प्रयोग गर्दै आएका थिए, निःशुल्क मिटर वितरणपछि चोरी नियन्त्रण भई विद्युत् चुहावट घट्ने र अनाधिकृत प्रयोगमार्फत हुने विद्युतीय दुर्घटना कम हुने छ’, घिसिङले भने, ‘यस कार्यक्रमले विद्युत्को पहुँच विपन्न वर्गसम्म विस्तार भएको छ।’

सरकारले चालु आर्थिक वर्षमा विपन्न वर्गलाई निःशुल्क मिटर जडान कार्यक्रम कार्यान्वयन गर्न ४० करोड रुपैयाँ विनियोजन गरेको छ । त्यही रकमलाई प्राधिकरणले  आफ्ना आठ वटा क्षेत्रीय कार्यालयलाई पाँच÷पाँच करोड रुपैयाँ बाँडफाँड गरेको थियो । क्षेत्रीय कार्यालयले प्राप्त रकमलाई विपन्न वर्गको संख्याका आधारमा शाखा कार्यालयलाई बाँडफाँड गरेका छन्।

प्राधिकरण जनकपुर क्षेत्रीय कार्यालयका निर्देशक ओमप्रकाश महतोले निःशुल्क मिटर जडान कार्यक्रम प्रभावकारी देखिएको र लक्षित समुदायबाट राम्रो प्रतिक्रिया प्राप्त भएको बताए । कार्यालयले तीन हजारभन्दा बढी विपन्न वर्ग घरधुरीमा निःशुल्क मिटर जडान गरिसकेको छ।

 

प्रकाशित मिति: १२:३१ बजे, बिहीबार, चैत १४, २०७५