लगातार तीन दिन बढेको बजारमा कारोबारले दियो साथ, के होला भोलि?
काठमाडौं, चैत १३: सदस्य दलालले प्रयोग गरिरहेको ब्रोकर प्रणाली (टीएमएस) होस्टिङमा आएको समस्याको कारणले गर्दा आज निर्धारित समय ३ बजेसम्म पुरै ....
काठमाडौं, चैत १३: सदस्य दलालले प्रयोग गरिरहेको ब्रोकर प्रणाली (टीएमएस) होस्टिङमा आएको समस्याको कारणले गर्दा आज निर्धारित समय ३ बजेसम्म पुरै शेयर कारोबार हुन सकेन।
चार घण्टाको कारोवार अवधिमा पुरै समय शेयर कारोवार हुन नसकेकाले नेपाल स्टक एक्सचेन्जले आजका लागि ६ बजेसम्म कारोबार गर्न समय थप गरेको थियो।अनलाइन कारोबार प्रणाली सञ्चालनमा आएको यति धेरै समय हुँदासम्म पनि ठूला-ठूला समस्या आउँदै गरेका छन्। प्रणालीमा सधै जस्तो आउने समस्यासँगै लगानीकर्ताको वर्तमान प्रणालीसँगको विश्वास घट्दै छ।
आज बजार ११४० दशमलव ७२ को विन्दुमा खुलेको थियो भने ११४२ दशमलव ८१ को उच्च विन्दुसम्म पुगेको थियो। आज बजारको न्यून विन्दु ११३९ दशमलव ८६ थियो। आज दिनभरमा ४८ करोड ६६ लाख बराबरको शेयर किनबेच भएको छ। हिजो कारोबार रकम २१ करोड ५१ लाख थियो। कारोबार रकम भने अघिल्लो दिनको तुलनामा निकै वृद्धि भएको छ। भर्खरै आईपिओ निस्काशन गरेको शिवम सिमेन्टको दोश्रो बजारमा खरिदकर्ता देखिन थालेका छन् भने युनिभर्सल पावर कम्पनी लिमिटेडमा अझै खरिदकर्ता देखिन सकेका छैनन्।
प्राथमिक बजार गतिविधि
- युनियन हाइड्रोपावरको चैत्र १३ गतेदेखि आइपीओ खुला गरेको छ। आवेदन दिने अन्तिम दिन चैत्र १७ गते रहेकोमा सो समयसम्म पनि पुरै शेयरमा आवेदन नपरेमा बैशाख १२ गतेसम्म समय थपिने छ। हाइड्रोपावरले प्रतिकित्ता १०० रुपैयाँका दरले ३४ लाख ६३ हजार ६ सय ५४ कित्ता शेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो । लगानीकर्ताले न्यूनतम ५० कित्ता आवेदन दिनु पर्ने छ भने अधिकतम ३५ हजार कित्तासम्म आवेदन दिन सकिने छ। लमजुङमा रहेको यस हाइड्रोपावरको प्रति मेगावट लागत २६ करोड ५० लाख रुपैयाँ छ। इक्रा नेपालले गरेको ५ रेटिङ अनुसार यो कम्पनीको कमजोर आधार देखाउँंछ।
अन्य गतिविधि
- प्रोग्रेसिभ फाइनान्सले साधारण समूहको ६ लाख ६७ हजार ३ सय ५ कित्ता शेयर लिलामीमा निकालेको छ। चैत्र २० गतेदेखि चैत्र २८ गतेसम्म बोलपत्र पेश गर्न सकिने छ।
- ग्रीन डेभलपमेन्ट बैंकले चैत २८ गते साधारण सभा गर्ने भएको छ। बैंकले होटल पिस प्यालेस, बाग्लुङ्गमा आफ्नो छैठौं वार्षिक साधारण सभा गर्दैछ। साधारण सभाका लागि कम्पनी चैत्र १५ गते देखि बुक क्लोज गर्दैछ। चैत्र १४ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग पाउने छन्। कम्पनीले यस वर्ष कुनै प्रकारको लाभांस दिने छैन।
आज नेप्सेमा आएको घोषणाहरु:
- बैंक अफ काठमाडाैंको ९९ लाख २ हजार ५४ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ।
- नेशनल माइक्रो फाइनान्स वित्तिय संस्थाको ३ लाख ५ हजार २ सय ७० कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ ।
नेप्से इतिहास
कारोबारको इतिहास
प्राविधिक विश्लेषण
चित्र नं १: दैनिक मैनबत्ती प्रवृत्ति
चित्र नं १, दैनिक मैनबत्तीमा देखिए बमोजिम १३ चैत्र, २०७५ मा बजार १ हजार १ सय ४२ दशमलब ६१ मा बन्द भएको छ। हिजोको अन्तिम अंकभन्दा आज बजार १ दशमलब ८९ अंकले बढेको छ। चार दिनदेखि लगातार घटिरहेको बजार फेरि तीन दिनदेखि केही बढी रहेको देखिन्छ। आजको दिनमा बजार थोरै अंकले उतारचडाब भएपनि परिमाणले कारोबार विगत केही दिनहरु भन्दा बढी भएको संकेत गरेको छ।
चित्र नं.२: ५ मिनेट मैनबत्ती प्रवृत्ति
चित्र नं.२, आजको कारोबारमा पनि उताडचडाब कस्तो रह्यो भनि हेर्नलाई ५ मिनेट समयावधिको मैनबत्ती नै प्रयोग गरिएको छ। हिजोको च्यानल फोर्मेसन आज रद्द भएको छ। आजको प्रवृत्तिले बजार सुरुमा केही झरेपनि अन्तिम समयमा फेरि हिजो उल्लेखित १ हजार १ सय ४२ को प्रतिरोधलाई पुनः सामना गरिरहेको देखिन्छ।
५ र २० दिनको एक्सपोनेन्सियल मुभिङ्ग एभरेजहरुले क्रेताको चाप रहेको संकेत गरेको छ। रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) ७० दशमलब ९२ अंकमा रहेको छ। यसले बजारमा शेयर बढी खरिद भएको संकेत गरेको छ। स्टोकास्टिक अक्सिलेटरले पनि बजारमा बढी खरिद भएकोे संकेत गरेको छ। भल्यूम अक्सिलेटरले खरिदकर्ताहरुको चाप हुन थालेको संकेत गरेको छ।
निष्कर्षः माथिको छोटो समयको नेप्से प्रवृत्तिहरु र सूचकहरुको आधारमा बजारलाई समग्र रुपमा हेर्ने हो भने आजको अन्तिम कारोबारमा बजार बढेको देखिए पनि तत्कालिन प्रतिरोध १ हजार १ सय ४२ लाई निश्चित रुपमा तोडी हालेको देखिँदैन। यदि यो प्रतिरोधभन्दा माथि बजार स्थिर रहन सकेमा बजार अझ केही सकारात्मक हुन सक्ने देखिए पनि अर्को सामान्य प्रतिरोध क्षेत्र १ हजार १ सय ५० मा रहेको देखिन्छ। त्यस्तै बजार तत्कालिन सामान्य टेवा १ हजार १ सय ४० भन्दा तल रहेमा बजार केही सच्चिन सक्ने देखिन्छ र अर्को तत्कालिन टेवा १ हजार १ सय ३६ मा रहेको देखिन्छ।
प्रतिदाबी: यो विश्लेषण आफैमा पूर्ण होइन। त्यसैले कारोबार गर्नु अघि आफै विश्लेषण गरेर निर्णय लिन आवश्यक हुन्छ।