Kathmandu Press

विप्लवलाई मानव अधिकार आयोगले भन्यो–बन्द फिर्ता लेऊ

काठमाडौं, चैत १३ : राष्ट्रिय मानव अधिकार आयोगले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई नेपाल बन्दको कार्यक्रम फिर्ता लिन आग....

विप्लवलाई मानव अधिकार आयोगले भन्यो–बन्द फिर्ता लेऊ
फाइल फोटो

काठमाडौं, चैत १३ : राष्ट्रिय मानव अधिकार आयोगले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई नेपाल बन्दको कार्यक्रम फिर्ता लिन आग्रह गरेको छ। 

आयोगका तर्फबाट सचिव वेद भट्टराईले बुधबार जारी गरेको विज्ञप्तिमा चैत १६ गते विप्लव समूहले आह्वान गरेको नेपाल बन्दको कार्यक्रम फिर्ता लिन आग्रह गरिएको छ। आयोगले नेपाल बन्दजस्तो आमनागरिकका लागि कष्टप्रद र मानवअधिकारलाई निस्तेज पार्ने किसिमका कार्यक्रम नगर्न पनि विप्लव समूहलाई सुझाव दिएको छ।

‘नेपाल बन्दका कारण विद्यालयका बालबालिकाको एसइई परीक्षा एवं सोही दिनका लागि निर्धारण गरिएको कानून व्यवसायीको छाता संगठना नेपाल बार एशोसिएसनको केन्द्रीय समितिको देशव्यापी निर्वाचनमा समेत असर पर्ने देखिन्छ,’विज्ञप्तिमा भनिएको छ। बन्दजस्तो कष्टकर र सामान्य जनजीवन नै ठप्प हुने किसिमको विरोधको कार्यक्रमले आमनागरिकको स्वतन्त्रतापूर्वक हिँडडुल गर्न पाउने अधिकार, स्वास्थ्यको अधिकार, शिक्षा, पेशा व्यवसाय तथा रोजगारीको अधिकार र न्यायमा पहुँचलगायतका विभिन्न अधिकारको उपभोगमा असर पर्ने आयोगको ठहर छ।

आयोगले चन्दा, विष्फोट, हत्या, हिंसायुक्त कार्य नगर्न, कतै पनि भययुक्त वातावरण सिर्जना नगर्न, राजनीतिक विचार, आस्था र आशङ्काको भरमा यथेष्ट प्रमाणबिना महिला, बालबालिका वा अन्य कुनै पनि नागरिकलाई धरपकड नगर्न, संविधानप्रदत्त अधिकारको प्रयोग गर्न पाउने वातावरण सुनिश्चित गर्न आग्रह गरेको छ। 

कुनै पनि द्वन्द्व वा विमति वार्ता र संवादबाटै निराकरण गर्न सकिने आयोगको सुझाव छ। आयोगले नेपालमा पनि विगतमा भएका सशस्त्र द्वन्द्व तथा विभिन्न प्रकारका संंघर्ष वा आन्दोलन वार्ता र संवादबाटै अन्त्य भएको तर्फ पनि सचेत गराएको छ।
 

प्रकाशित मिति: १८:१० बजे, बुधबार, चैत १३, २०७५