Kathmandu Press

नौ संक्रमित भेटिएपछि तेह्रथुममा एक साता निषेधाज्ञा

तेह्रथुम, भदौ ५ : एकै दिन नौ व्यक्तिमा कोभिड–१९ संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय तेह्रथुमले एक साताका लागि निषेधाज्ञा जारी गरेको छ।<....

नौ संक्रमित भेटिएपछि तेह्रथुममा एक साता निषेधाज्ञा

तेह्रथुम, भदौ ५ : एकै दिन नौ व्यक्तिमा कोभिड–१९ संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय तेह्रथुमले एक साताका लागि निषेधाज्ञा जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले बिहीबार सूचना जारी गर्दै गए राति १२ बजेबाट भदौ ११ गतेसम्म निषेधाज्ञाको घोषणा गरेका हुन्। कन्ट्याक्ट ट्रेसिङका क्रममा तेह्रथुममा सरकारी कर्मचारी, वकिललगायत नौ व्यक्तिमा संक्रमण देखिएपछि एक साताका लागि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

प्रशासनले अत्यावश्यक सेवाअन्तर्गत खाद्यान्न तथा सब्जी पसल किहान ७ बजेदेखि ९ बजेसम्म सतर्कतापूर्वक खोल्न भने अनुमति दिएको छ। प्रशासनले अत्यावश्यक बाहेक सवारीका साधन सञ्चालन र हिँडडुलमा समेत रोक लगाइएको जनाएको छ। 

जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको मौका उठाई अत्यावाश्यक वस्तुको कालोबजारी, जम्माखोरी, कृत्रिम अभाव तथा मूल्य वृद्धि भएको पाइए कडाइका साथ कारबाही गरिने जनाएको छ। प्रशासनले निषेधाज्ञाको पालना गरी कोभिड–१९ संक्रमण फैलनबाट रोक्न जिल्लावासीलाई आह्वानसमेत गरेको छ।

स्वास्थ्य कार्यालय तेह्रथुमका प्रमुख योगराज घिमिरेका अनुसार यही भदौ १ गते परीक्षणका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएका ७४ वटा नमूनामध्ये नौ जनामा कोभिड–१९ को संक्रमण देखिएको छ। उनीहरुमध्ये तीन महिला छन्।

कन्ट्याक्ट ट्रेसिङबाट लिइएका थप सात वटा नमूना परीक्षणको रिपोर्ट आउन बाँकी छ। घिमिरेका अनुसार परीक्षणका क्रममा एक जनामा संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङमार्फत सम्पर्कमा रहेका अन्य व्यक्तिको स्वाब लिई परीक्षण गर्दा ठूलो संख्यामा संक्रमित देखिएका हुन्। 

कन्ट्याक्ट ट्रेसिङमार्फत स्वाब लिने क्रम अझै जारी रहेको घिमिरेले बताए। तेह्रथुममा अहिले सक्रिय संक्रमितको संख्या १० पुगेको छ। 

प्रकाशित मिति: १३:४५ बजे, शुक्रबार, भदौ ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्