एसइई परीक्षाः पाँच निरीक्षक र ६ परीक्षार्थी पक्राउ
सप्तरी, चैत १३: एसइई परीक्षामा अमर्यादित क्रियाकलापमा संलग्न रहेको आरोपमा पाँच निरीक्षक र ६ परीक्षार्थी पक्राउ परेका छन्। गणित विषयको परीक्ष....

सप्तरी, चैत १३: एसइई परीक्षामा अमर्यादित क्रियाकलापमा संलग्न रहेको आरोपमा पाँच निरीक्षक र ६ परीक्षार्थी पक्राउ परेका छन्। गणित विषयको परीक्षामा बुधबार महावीर मावि हनुमाननगरबाट परीक्षा दिइरहेका भुपेन्द्रकुमार साह, मधुकुमारी मण्डल र बैजु राम पक्राउ परेको विद्यालयले जनाएको छ।
चिट चोर्न मोबाइल प्रयोग गरेको पाइएकाले उनीहरुको बुधबारको परीक्षा रद्द गरिएको केन्द्राध्यक्ष डम्बरनारायण यादवले बताए। यसैगरी बमनगामा कट्टी परीक्षा केन्द्रबाट परीक्षा दिइरहेका तिलाठी कोइलाडी लौनियाका बुधेश्वर यादवलाई समेत मोबाइल प्रयोग गरेको पाइएपछि पक्राउ गरिएको छ।
जनता मावि बसबिट्टीबाट परीक्षा दिइरहेका ह्याप्पीलैण्ड सेकेण्ड्री माविका अनिल साह र विमल दासलाई समेत परीक्षा सकिने वित्तिकै प्रहरीले नियन्त्रणमा लिएको छ। पहिलो दिन फेला परेको मोबाइल उनीहरुको रहेको पत्ता लागेपछि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
मोबाइल प्रयोग गरी भाइबर, वाट्सअप र फेसबुकको चाट म्यासेञ्जरबाट प्रश्नपत्रको तस्बिर बाहिर पठाउने र सोही माध्यमबाट उत्तर आएपछि उत्तर पुस्तिकामा उतार गर्ने गरिएको पाइएको छ। कमलेश्वरी किशुन झौलाई मावि वनरझुला केन्द्रमा मोबाइललगायत फ्लाप कपीबाट चिट चोराएको भेटिएपछि पाँचजना निरीक्षक पनि बुधबारै पक्राउ परेका छन्।
उक्त विद्यालयमा चिटका लागि प्रयोग भएको बेवारिसे मोबाइल समेत फेला परेको छ । चिट चोराउने कार्यमा संलग्न रहेको आरोपमा खडक नगरपालिका– ४ का देवनारायण मण्डल, खडक–९ का मनोजकुमार चौधरी र खडक– १० का रामसुन्दर चौधरी, सुरुङ्गा नगरपालिका–४ का लगेन्द्रप्रसाद चौधरी र सुरुङ्गा–८ का रामानन्द चौधरी पक्राउ परेको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ। परीक्षा अमर्यादित भएको विषयमा केन्द्राध्यक्ष रामअवतार गुप्तालाई समेत राजविराज झिकाइ सोधपुछ गरिएको छ। रासस










