घुम्नैपर्ने संसारका उत्कृष्ट गन्तव्य काठमाडौं
काठमाडौं, चैत १३ : सन् २०१९ मा घुम्नैपर्ने विश्वका उत्कृष्ट २५ पर्यटकीय गन्तव्यको सूचीमा काठमाडौं पनि परेको छ।
घुमफिर र यात्राबारे यात्रीलाई....

काठमाडौं, चैत १३ : सन् २०१९ मा घुम्नैपर्ने विश्वका उत्कृष्ट २५ पर्यटकीय गन्तव्यको सूचीमा काठमाडौं पनि परेको छ।
घुमफिर र यात्राबारे यात्रीलाई विस्तृत विवरण प्रदान गर्ने संसारकै ठूलो अमेरिकी ‘ट्राभल साइट’ ट्रिप एडभाइजर डटकमले नेपालको राजधानीलाई यो वर्ष भ्रमण गर्नैपर्ने १९औँ उत्कृष्ट पर्यटकीय गन्तव्यको सूचीमा समावेश गरेको हो।
ट्रिप एडभाइजर डटकमले काठमाडौं उपत्यका र आसपासका धार्मिक एवं ऐतिहासकस्थल, वास्तुकलायुक्त अनुपम भवन, संग्रहालय, मठमन्दिर, चन्द्रागिरि, नगरकोट, शिवपुरी निकुञ्ज, विभिन्न उद्यानका साथै विश्व सम्पदा सूचीमा सूचीकृतस्थल हरेक यात्रीले हेर्नैपर्ने स्थानका रुपमा समावेश गरेको छ।
बौद्धनाथ, कपन गुम्बा, पशुपतिनाथ, केशरमहलस्थित स्वप्न उद्यान, काठमाडौं, ललितपुर, भक्तपुर दरबार क्षेत्रका साथै ठमेललगायत स्थानलाई दर्शनीयस्थलका रुपमा चित्रण गरिएको छ।
बेलायतको राजधानी लन्डनलाई पहिलो नम्बरमा समावेश गरिएको छ भने फ्रान्सको पेरिस दोस्रो, इटलीको रोम तेस्रो, ग्रीसको क्रेट चौथो र इन्डोनेसियाको बाली पाँचौ नम्बरमा छन् । त्यस्तै, दुबईलाई १०औँ र अमेरिकाको न्यूयोर्कलाई १३औँ स्थानमा राखेको छ।











