कर्णालीको विकास सरकारको उच्च प्राथमिकतामा: प्रधानमन्त्री
काठमाडौं, चैत १२: प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णालीको विकासलाई सरकारले उच्च प्राथमिकतमा राख्ने बताएका छन्।
नेपाल कम्युनिष्ट ....

काठमाडौं, चैत १२: प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णालीको विकासलाई सरकारले उच्च प्राथमिकतमा राख्ने बताएका छन्।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कर्णाली प्रदेशका सांसदहरुसँग मंगलबार सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री ओलीले गतबर्षको बजेट बिनियोजनमा कर्णालीका महत्वपूर्ण योजनाहरु छुटेपनि यसपाली कर्णालीलाई प्राथमिकतामा राखिने बताए। ‘गत वर्ष कर्णाली प्रदेशका जिल्लालाई योजना र बजेट दिन छुटेको सही हो तर यसपाली त्यो क्रम दाहोरिँदैन,’उनले भने,‘सरकारले कर्णाली प्रदेशको विकासलाई उच्च प्राथमिकतामा राख्दछ।’
प्रधानमन्त्री ओलीले जनसंख्याका आधारमा मात्र स्रोतको परिचालन भन्ने कुरा जायज नभएको बताए। ‘कर्णालीको भूगोलको विशिष्टता बेग्लै छ,’उनले भने,‘यस भूगोललाई विशेष रुपमा बजेट विनियोजन गरेर विकासको मुल प्रवाहमा ल्याउनु पर्दछ।’ कर्णाली सम्भावनायुक्त प्रदेश भएकाले देशको विकास र समृद्धिमा यस प्रदेशको भूमिका महत्वपूर्ण हुने प्रधानमन्त्री ओलीले बताए। ‘यहाँको खनिज, जलस्रोत, जडिबुट्टीको उपयोगका लागि पनि यस प्रदेशको विकासमा सबैको ध्यान जानु जरुरी छ,’उनले भने।
प्रधानमन्त्री ओलीले कर्णालीको समग्र विकास र जिल्लागत विकासका आयोजनाहरुको विवरण वैशाखको पहिलो हप्ताभित्र आफूलाई उपलब्ध गराउन सांसदहरुलाई निर्देशन दिए।











