नेपाल विदेशी युवाको आकर्षणको थलो बनाउनुपर्छ: अर्याल
स्याङ्जा, चैत १२: भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले अब नेपाल विदेशी युवाहरूको आकर्षणको थलो बनाउनुपर्ने बताएकी छ....

स्याङ्जा, चैत १२: भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले अब नेपाल विदेशी युवाहरूको आकर्षणको थलो बनाउनुपर्ने बताएकी छिन्।
आँधीखोला गाउँपालिका वडा नम्बर २ र ४ को संगमस्थल स्याङ्जामा निर्मित अन्धाअन्धी मोटरेवल पुलको मंगलबार उद्घाटन गर्दै मन्त्री अर्यालले नेपाल थुप्रै सम्भावनाहरू भएको मुलुक भएकाले अब ती योजनाहरूलाई उत्पादनमा जोड्दै आयआर्जन गर्ने कार्यमा लाग्नुपर्ने बताइन्। भएका सम्भावनाहरूलाई योजनावद्ध रूपमा सदुपयोग गरेर विदेश निर्यात भइरहेका नेपाली युवाहरूलाई स्वदेशमै रोजगारी पाउने कार्यको थालनी गर्नुपर्ने उनले बताइन्।
अब नेपाल श्रमशक्ति निर्यात नभएर विदेशी श्रमशक्ति आकर्षित गर्ने देश बन्ने मुलुकका रूपमा विकास गर्नुपर्ने उनको भनाइ छ। ‘हामीसँग थुप्रै सम्भावनाहरू छन्, कृषिको सम्भावना छ, पर्यटनको सम्भावना छ, जलस्रोतको सम्भावना छ। तिनै सम्भावनामाथि टेकेर अब नेपाली युवाहरूको आकर्षण विदेश होइन। विदेशी युवाहरूको आकर्षण नेपाल बनाउनुपर्छ। नेपाल सरकारको सोच हो यो, यही स्प्रिटका साथ हामी अगाडी बढेका छ’, मन्त्री अर्यालले भनिन्।
नेपाललाई स्वीट्जरल्याण्ड बनाउँछौ भनेर भाषण गरेर मात्र नहुने भन्दै उनले योजनावद्ध रूपमा विकासका कामहरू अगाडि बढाउनुपर्ने बताइन्। उनले भनिन्,‘हामीसँग धेरै सम्भावनाहरू छन्। अब योजना बनाएर अगाडि बढ्नुपर्छ।’ कृषिप्रधान देशका जनता अब पनि भोकभोकै मर्ने अवस्था रहिरहन दिन नहुने भन्दै मन्त्री अर्यालले त्यसका निम्ती योजनावद्ध विकासका कार्यक्रमहरू ल्याउनुपर्ने बताइन्











