जनमत संग्रहमा जाँदा देश विरोधीहरु बलिया हुन्छन्ः पौडेल
महोत्तरी, चैत १२ः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकलाई जनमत संग्रहमा लैजाँदा देश विरोधीहरु बलिया हुने बत....
महोत्तरी, चैत १२ः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकलाई जनमत संग्रहमा लैजाँदा देश विरोधीहरु बलिया हुने बताएका छन्।
कांग्रेस महोतरी क्षेत्र नम्बर ३ ले मंगलबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने,‘राष्ट्रलाई जनमत संग्रहमा लैजाँदा देश विरोधीहरु बलिया हुन्छन्। हामीले धर्मको कुरा होइन अब विकासको कुरा गर्नुपर्छ। लोकतन्त्रले नै देशको स्वाभिमान बलियो बनाउँछ।’
पौडेलले कुनै धर्म विषेशका नाममा धार्मिक द्वन्द्व भए नेपाल सोमालिया हुने दाबी गरे। पौडेलले लामो संघर्षपछि आएको संघीयता, लोकतन्त्र र गणतन्त्रको संरक्षण गर्नु कांग्रेसको दायित्व भएको बताए। पौडेलले हिजो संविधान संशोधनको माग गर्ने दल सबै माग छोडेर सत्ताभोगी भएको बताए।
‘कांग्रेसले संविधान संशोधन गर्न खोज्दा तत्कालिन एमालेले विरोध गर्यो। केपी ओलीले हिजो मधेशका जनता र मधेसका नेतालाई के–के भन्दै हिडेका थिए। आज तीनै मधेसका नेताहरु उनकै नेतृत्वको सरकारमा किन टाँसिएका छन्?’पौडेलले भने,‘अहिले संविधान संशोधनको कुरा कहाँ हरायो। संविधान संशोधन छोडेर सत्तामा जानु भनेको सत्ताको भोगी हो कि होइन?’
पौडेलले २२ बुँदे सम्झौता गर्ने कांग्रेस कसरी मधेस विरोधी भयो भन्ने प्रश्न पनि गरे। ‘हामीले हलो जोतेर क्रान्तिको सुरुवात गरेका हौं। हामीले मजदुर आन्दोलन गरेर क्रान्तिको सुरुवात गरेका हौं। श्रमको सम्मान कसरी हुन्छ। त्यो हामीलाई थाहा छ। श्रमको सम्मान हामीले मात्र गर्दछौं।,’उनले भने,‘प्रजातन्त्रका मुल्य र मान्यतामा आँच आउने कुनै काम नगरौं भनेर भन्दा महन्थ ठाकुरजीहरुले हामीलाई मधेस मात्र थाहा छ अरु केही थाहा छैन भनेर भन्नुभयो।’
उनले लोकतन्त्र बलियो भए मात्र मधेसी जनता र समग्र मधेस बलियो हुने बताए। पौडेलले मधेसमा कांग्रेससँगको सम्बन्धलाई निरन्तरता दिन हिमाल–पहाड–तराईलाई एक गर्नका आफू मधेसमा सम्वाद गर्न आएको बताए।






