सरकार ज्ञानेन्द्र शाहको शैलीमा अघि बढ्न खोज्यो: कांग्रेस
काठमाडौं, चैत ११ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार स्वेच्छाचारी ढंगले अघि बढेको निष्कर्ष निकालेको छ।
काठमाडौं, चैत ११ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार स्वेच्छाचारी ढंगले अघि बढेको निष्कर्ष निकालेको छ।
सिंहदरबारस्थित दलको कार्यालयमा बसेको संसदीय दलको बैठकले सरकार स्वेच्छाचारी ढंगले अघि बढिरहेकाले त्यसलाई रोक्न छाया सरकार गठनको प्रक्रिया अघि बढाउने निर्णय लिएको हो।
कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले सरकार तत्कालीन राजा ज्ञानेन्द्र शाहको शैलीमा शासन चलाउन उद्धत रहेकाले त्यसलाई रोक्न आवश्यक रहेको निष्कर्ष बैठकले निकालिएको जानकारी दिए। ‘सरकारले संसदमा पेश गरेका विधेयकहरु हेर्ने हो भने सरकारले ज्ञानेन्द्र शाहको शैलीमा शासन चलाउन खोजेको देखिन्छ,’ खाँणले भने,‘सरकारको त्यस्तो शैलीलाई रोक्न छाया सरकार गठन अब छिट्टै गर्छौं।’
कांग्रेसले सरकारले संसदमा पेश गरेका सुरक्षा परिषद्, प्रेस लगायत विशेयकहरु राज्यका अरु अंगलाई छायाँमा पार्न ल्याइएको पनि ठहर गरेको छ। प्रमुख सचेतक खाँणले भने,‘पछिल्ला गतिविधिलाई हेर्ने हो भने सरकारले राज्यका अरु अंगलाई छायाँमा पार्न खोजिरहेको देखिन्छ। अब कांग्रेसले छायाँ सरकार बनाएर त्यसविरुद्ध उत्रिन्छ।’
बैठकले सरकार संसदप्रति उत्तरदायी नभएको निष्कर्ष पनि निकालेको खाँणले जानकारी दिए। बैठकले नेत्रविक्रम चन्द विप्लव समूहलाई प्रतिबनध लगाएर आपराधिक क्रियाकलाप गर्न उत्तेजित बनाउने काम सरकारले गरेको पनि ठहर गरेको छ। अहिलेको अवस्थामा विप्लव समूहलाई प्रतिबन्ध लगाउने निर्णय सही नभएको निष्कर्ष निकालिएको खाँणले जानकारी दिए।
बैठकले विप्लव समूहलाई आपराधिक क्रियाकलाप त्यागेर शान्तिपूर्ण राजनीतिमा आउन पनि आग्रह गरेको खाँणले बताए।






