विप्लव समूहका भेरी–कर्णाली इञ्चार्ज शाही पक्राउ
कालिकोट, चैत ११: नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका बुद्धिजीवी परिषद् भेरी–कर्णाली इञ्चार्ज धनराज शाही पक्राउ परेक....
कालिकोट, चैत ११: नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका बुद्धिजीवी परिषद् भेरी–कर्णाली इञ्चार्ज धनराज शाही पक्राउ परेका छन्।
कालिकोट जुबिया–८ लिबुवाका शाहीलाई प्रहरीले सोमबार मोल्पा राताडाबाडबाट पक्राउ गरिएको कालिकोट प्रहरी प्रमुख विनोद शर्माले जानकारी दिए। उनका अनुसार पक्राउ परेका शाही विप्लव समूहले गठन गरेको जनसरकारका कालिकोट प्रमुख पनि हुन्।
प्रहरीले बुद्धिजीवी परिषद् भेरी–कर्णाली इञ्चार्ज शाहीको साथबाट बम बिस्फोट गराउन प्रयोग गरिने जिलेटिन ३२ थान, आइइडी माइत १ थान, बारुद एक किलो र डेडकर्ड तीन मिटर बरामद गरेको छ।
यसअघि सोमबार नै प्रहरीले नेकपाका कोशी ब्यूरो इन्चार्ज घनश्याम श्रेष्ठ ‘पुष्कर’ लाई मोरङबाट पक्राउ गरेको थियो। उनलाई संगठन विस्तारका क्रममै रहेको बेला पक्राउ गरिएको प्रहरीले जनाएको छ। सरकारले गत फागुन २८ गते विप्लव नेतृत्वको नेकपाका गतिविधिमाथि प्रतिबन्ध लगाउने निर्णय गरेसँगै प्रहरीले निगरानी बढाएको छ।
प्रहरीले शनिबार काभ्रेबाट नेकपा तेस्रो वरियताका नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’ सहित ८ जनालाई पक्राउ गरी ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो।






