विप्लवमाथि लगाइएको प्रतिबन्ध पत्रपत्रिकाबाट थाहा पाएँः नेपाल
चितवन, चैत ११: नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले राज्य निरीह संस्था नभएकाले यसलाई कसैले चुनौती दिँदा चुप लागेर....

चितवन, चैत ११: नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले राज्य निरीह संस्था नभएकाले यसलाई कसैले चुनौती दिँदा चुप लागेर बस्न नमिल्ने बताएका छन्।
सोमबार चितवनमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले आपराधिक गतिविधि गर्ने जोकोहीप्रति राज्य निरीह बन्न नसक्ने बताएका हुन्। नेपालले भने,‘राज्य भनेको निरीह संस्था होइन, राज्यलाई कसैले चुनौती दिन्छ भने चुप लागेर बस्ने कुरा हुँदैन।’
डा. सीके राउतको समूहलाई विखण्डनको बाटोबाट मूलधारमा ल्याउनु राम्रो काम भएको उनले बताए। सरकार सञ्चालनबारे पत्रकारको जिज्ञासामा उनले सरकार र पार्टी सञ्चालनमा सचिवालयमा सरसल्लाह हुनुपर्नेमा जोड दिए। उनले भने,‘असन्तुष्ट पक्षलाई बोलाई छलफल गरेर विश्वासमा लिनुपर्दछ।’
‘नेकपा जनवादी केन्द्रीयताको सिद्धान्त र सामूहिक नेतृत्वको आधारमा चल्ने पार्टी हो। कोही व्यक्तिविशेष सर्वेसर्वा हुँदैन,’नेपालले भने। पूर्वप्रधानमन्त्री नेपालले नेत्रविक्रम चन्द नेतृत्वको समूहलाई प्रतिबन्ध लगाउने विषयमा आफूले पत्रपत्रिकाबाट मात्र थाहा पाएको बताए। उनले सरकारलाई विगतका कमजोरीलाई सुधार गर्दै अघि बढ्न सल्लाह दिए।
पार्टीका तल्ला कमिटी र जनवर्गीय सङ्गठनको एकताको प्रसङ्गमा नेता नेपालले पार्टी अध्यक्ष पुष्पकमल दाहाल अमेरिकाबाट फर्किएपछि छलफल गरेर टुङ्गो लगाइने जानकारी दिए। रासस











