सरकारले जनताको बलिदानबाट प्राप्त उपलब्धि समाप्त गर्न खोज्योः सिंह
झापा, चैत ११ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकार नेपाली जनताको त्याग र बलिदानबाट प्राप्त उपलब्धिहरु समाप्त ....
झापा, चैत ११ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकार नेपाली जनताको त्याग र बलिदानबाट प्राप्त उपलब्धिहरु समाप्त गर्न उद्धत रहेको आरोप लगाएका छन्।
नेपाल प्रेस युनियन झापाले सोमबार गरेको पत्रकार सम्मेलनमा सिंहले प्रधानमन्त्री कार्यालयलाई शक्तिशाली बनाउन भइरहेका प्रयासबाटै उद्देश्य प्रष्ट भएको बताए। उनले भने,‘ सरकारका पछिल्ला गतिविधि र प्रयासबाटै उसको उद्देश्य प्रष्ट हुँदै आएको छ। सरकारले सदनमा प्रस्तुत गरेका ऐन कानून निर्माणका लागि प्रस्तुत विधेयकहरुमा राखिएका प्रावधानहरु हेर्दा अझै छर्लङ्ग हुन्छ। यी सबै घटनाक्रमले सरकारको नियत प्रष्ट पार्दै आएको छ।’
उनले सेना परिचालनका विषयमा होस् वा विप्लवमाथिको प्रतिबन्ध, प्रेस तथा सामाजिक सञ्जाल प्रयोगमा लगाउन लागिएको अंकुश पछिल्ला उदाहरण भएको बताए।
उनले सरकारले राम्रो काम गरोस् भन्ने आफूहरुको चाहना रहेपनि सरकार अनावश्यक कुरामा अल्झिएको आरोप लगाए। जनचाहना अनुरुप एक वर्षमा कुनै पनि काम हुन नसकेको बताउँदै उनले अब सरकारबाट नयाँ अपेक्षा गर्न नसकिने बताए।
उनले दुई तिहाईको सरकारको पहिलो कुदृष्टि प्रेसमा परिरहेको कुराप्रति सजक हुन प्रेस जगतलाई आग्रह पनि गरे। प्राप्त उबलब्धिमाथि खतरा उत्पन्न हुँदा पहिलो निशाना प्रेस क्षेत्रमाथि नै पर्ने भएकाले जिम्मेवार बन्न नेता सिंहको आग्रह छ।






