वार्तामा नआए पनि चैतभित्रै विप्लवका गतिविधि नियन्त्रण गरिन्छ : प्रधानमन्त्री
काठमाडौं, चैत ११ : नेकपा संसदीय दलका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई हतियार बुझाउन दु....
काठमाडौं, चैत ११ : नेकपा संसदीय दलका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई हतियार बुझाउन दुई हप्ताको समय रहेको बताएका छन्।
सोमबार संसद् भवन नयाँबानेश्वरमा बसेको पार्टी संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले चैतभित्रै विप्लव समस्याको समाधान हुने बताए । 'उहाँहरु सहमतिमा आए ठीकै छ । नत्र विप्लव समूहका अतिवादी क्रियाकलाप चैतभित्रै सरकारले नियन्त्रण गर्छ' प्रधानमन्त्री ओलीले भने, 'विकास निर्माणमा अवरोध,शिक्षा स्वास्थ्यमा अवरोध गर्ने ,चन्दा माग्ने,मान्छे मार्ने अनि अनि हंसिया हथौडा अंकित झण्डा प्रयोग गर्ने ? यस्तो प्रवृतिलाई सरकारले नियन्त्रण गर्छ नै ।'
संसद् अधिवेशन सकिएकाले सांसदहरूलाई एक महिनाका लागि आ–आफ्नो निर्वाचन क्षेत्रमा खटिन प्रधानमन्त्री ओलीले निर्देशन दिए । आगामी बजेट अधिवेशन एक महिनापछि शुरु हुने भएकाले त्यसमा प्रभावकारी ढंगले प्रस्तुत हुन तयारीका साथ आउन पनि प्रधानमन्त्री ओलीले निर्देशन दिए।
संसदीय दलको बैठकलाई करिब एक घण्टा सम्बोधन गरेका ओलीले पार्टी एकताका काममा ढिलाइ भए पनि अब चाँडै टुंगोमा पुग्ने पनि बताए। जनताले सांसदहरुसँग स्थानीय तहको पार्टी एकताको बारेमा धेरै प्रश्न सोध्नसक्ने बताए । तर, अब पार्टी एकताका लागि धेरै समय नलाग्ने भएकोले त्यसैअनुसार जनता र कार्यकर्तालाई सन्देश दिन प्रधानमन्त्री ओलीले आग्रह गरे। 'केन्द्रमा एकीकरण भएको महिनादिनभित्रै सबै कमिटीको एकता सकिनुपर्थ्याे । यसमा अनावश्यक विलम्ब भएको छ', प्रधानमन्त्री ओलीले भने, “तर अब अध्यक्ष पुष्पकमल दाहाल अमेरिकाबाट फर्कनेबित्तिकै एकताका सबै काम टुंगिन्छन् ।'
प्रधानमन्त्री ओलीले जनतामा नेकपाको लोकप्रियता अझै बढिरहेको पनि दाबी गरे । उनले नेकपाको स्पष्ट नीति र लक्ष्य भएकोले देशलाई कता लैजाने भन्ने कुरामा अलमल नभएको पनि बताए । प्रधानमन्त्री ओलीले भने, 'देशमा नेकपाजस्तो स्पष्ट नीति,लक्ष्य भएको अर्को पार्टी छैन । हाम्रो स्पष्ट लक्ष्य छ समृद्धि सहितका सुखी नेपाली । यही लक्ष्य प्राप्त गर्न सरकार दत्तचित्त भएर लागिपरेको छ ।'






