सवारी साधनको कर बुझाउन सात घन्टा लाइनमा
काठमाडौं, साउन १६ : सवारी साधनको कर बुझाउन सास्ती हुने गरेको सेवाग्राहीले बताएका छन्। कोरोनाको संक्रमणको जोखिमका वेला पनि लामो लाइनमा लाग्नुपर्ने र कर....

काठमाडौं, साउन १६ : सवारी साधनको कर बुझाउन सास्ती हुने गरेको सेवाग्राहीले बताएका छन्। कोरोनाको संक्रमणको जोखिमका वेला पनि लामो लाइनमा लाग्नुपर्ने र कर्मचारीको ढिलासुस्तीले कर बुझाउँदा सजाय भोग्न आएजस्तो हुने गरेको सेवाग्राहीको गुनासो छ।
नुवाकोटको विदुर नगरपालिकाबाट दुईपांग्रे सवारी साधनको कर बुझाउन काठमाडौं आएका ४२ वर्षीय हेमन्तकुमार ओझाले सात घन्टा लाइनमा बस्दापनि पालो नआएको बताए। ‘लाइनमा बस्नुपर्छ भनेर एक दिन अगाडि नै आएको थिए,’ लाइनमा देखिएका उनले भने, ‘बिहान ८ बजेदेखि लाइनमा बस्दा पनि ३ बजेसम्म पालो आएन।’
बुधबार अपराह्न ३ बजे टोकन नं. २८७ को पालो आएको थियो। ओझाको टोकन नं. ३१३ रहेको थियो। ‘टिकट नपाइने डरले बिहानै आएको हुँ। तैपनि दिनभरनै लाग्यो,’ उनले गुनासो गरे, ‘कर बुझाउँदा पनि सजाय भोग्न आए जस्तो भयो।’
सरकारले सेवाग्राहीलाई कुनै सुविधा दिन नसकेको उनको भनाइ थियो। प्रत्येक वर्ष कर बुझाउन आउँदा उस्तै भीड र ढिलासुस्ती हुने गरेको उनले सुनाए। ‘कहिल्यै सुध्रिने भएन, जहिल्यै उस्तै दुःख हुन्छ,’ उनले भने।
त्यस्तै, काठमाडौंको कोटेश्वरबाट दुईप्रांग्रे सवारी साधनको कर बुझाउन आएका ४० वर्षीय सुमन सिलवालले पनि उस्तै पीडा सुनाए। सरकारी कार्यालयहरुबाट हुने सेवामा सुधार आउन नसकेको उनको भनाइ थियो। ‘नौ–दश वर्ष अगाडि जस्तो थियो, अहिले पनि कर बुझाउन उस्तै दुःख छ। तछाड मछाड हुन्छ,’ सिलवालले भने।
सरकारले करको बढाएपनि कर बुझाउने सेवाग्राहीलाई सजिलो बनाउन नसकेको उनको गुनासो छ। ‘कर बुझाउन पनि एक दिन लाग्छ,’ उनले भने, ‘कहिले काँही भए त ठीकै भन्न हुन्थ्यो, सधै उस्तै हो।’
पहिले एउटा मात्र कार्यालय भएका कारणले भीड हुने गरेको थियो। अहिले सवारी साधनको बढेकाले भीड हुने गरेको छ।
अझ अहिले त कोरोना भाइरस संक्रमणको जोखिम छ। तर, कर कार्याल्यमा भने सुरक्षाका मापदण्ड पालना गरिएको छैन। सेवाग्राही भीडभाडमै कर बुझाउन तछाडमछाड गरिरहेका हुन्छन्।
कर कार्यालयले स्यानिटाइजर, हात धुने व्यवस्था केही गरेको छैन। भीडमा आउने त्यस्तै, भौतिक दूरीको पनि ख्याल गरिएको पाइदैन।
बिहान ९ः४५ बजेदेखि ११ बजेसम्म टिकट काट्ने समय तोकिएको छ। यसले पनि भीड बढ्ने गरेको सेवाग्राही बताउँछन्। टिकट नमिल्ला कि भनेर सबै बिहानै आउने गरेका छन्। जसले गर्दा भीडभाड हुने गरेको छ।
यातायात व्यवस्थापन सेवा कार्यालय, सानो भर्याङका लेखा सहायक अर्जुन खत्रीका अनुसार दैनिक चार सयको हाराहारीमा सेवाग्राही आउने गरेका छन्। दैनिक तीन सयलाई टिकट बाड्ने तय गरिएको भएपनि टिकट बाड्ने समयमा आउने सबैलाई दिने गरिएको उनले बताए। दुईपांग्रे तथा चारपांग्रे दुवैको कर बुझाउन मिल्ने भएकाले सेवाग्राहीको संख्या धेरै हुने गरेको उनको भनाइ छ।
गत आर्थिक वर्षको कर बुझाउने समय आगामी भदौ २४ गतेसम्म तोकिएको छ। त्यतिञ्जेलसम्म जरिवाना नलाग्ने उनले बताए।
कर कार्यालयका अनुसार, असार १ गतेदेखि साउन १३ गतेसम्म ६७ करोड २८ लाख २२ हजार दुई सय ३० रुपैयाँ राजश्व संकलन भएको छ। गत वर्ष एक अर्ब ४६ करोड ५० लाख ९४ हजार सात सय १५ रुपैयाँ राजश्व संकलन भएको थियो।












-(86)-1764936079.jpg)