Kathmandu Press

संघीय संसदको हिउँदे अधिवेशन समाप्त

काठमाडौं, १० चैतः संघीय संसद्को हिउँदे अधिवेशन सकिएको छ। सभामुख कृष्णबहादुर महराले बैठकमा दिएको  जानकारी अनुसार पुस ११ गते सुरु भएको अधिवेशन जम्म....

संघीय संसदको हिउँदे अधिवेशन समाप्त
फाइल फोटो

काठमाडौं, १० चैतः संघीय संसद्को हिउँदे अधिवेशन सकिएको छ। सभामुख कृष्णबहादुर महराले बैठकमा दिएको  जानकारी अनुसार पुस ११ गते सुरु भएको अधिवेशन जम्मा ८९ दिन चालु रह्यो। ३२ दिनमा ४६ पटक बैठक बसी जम्मा ६१ घण्टा ५ मिनेट ससंदीय काम कारवाहीमा व्यतित भएको छ।

संसद् सचिवलायका अनुसार अधिवेशन अवधिभर प्रतिनिधि सभामा जम्मा २३ वटा सरकारी विधेयक दर्ता भएकोमा ८ वटा विधेयकहरु सभामा प्रस्तुत हुन बाँकी छ। सात विधेयक सम्बन्धित समितिहरुमा विचाराधीन छन् भने अन्य ६ वटा विधेयक संघीय संसदको दुवै सदनबाट पारित भइसकेका छन्।

साथै सभाको दोस्रो अधिवेशनबाट प्राप्त विभिन्न ७ वटा विधेयक मध्ये ४ वटा विधेयक दुवै सदनबाट पारित भइसकेका छन् भने २ वटा विधेयक समितिमा विचाराधीन अवस्थामा नै रहेको र ‘राहदानी विधेयक, २०७५’ राष्ट्रियसभामा विचाराधीन छ। २०७५ पुस ११ गते बैठकमा पेश भएको ‘कर्मचारी समायोजन अध्यादेश, २०७५’ माथि छलफल गरी २०७५ पुस १७ गतेको बैठकबाट स्वीकृत भएको थियो।

यही अधिवेशनमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धी कार्यक्रममा सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ प्रधानमन्त्रीबाट दिने कार्य भएको थियो। त्यस्तै, गृहमन्त्रीसहित विभिन्न मन्त्रीहरूले आफ्ना मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिएका थिए। तेस्रो अधिवेशनमा विभिन्न संवैधानिक अङ्गका वार्षिक प्रतिवेदनहरूसभा समक्ष पेश गरियो भने यही अवधिमा प्रतिनिधिसभा सदस्य पर्यटनमन्त्री रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भयो।

त्यस्तै, पूर्व सांसदहरु चक्रप्रसाद बाँस्तोला, पद्मरत्न तुलाधर, मोतीदेवी थारु, कमलादेवी शर्मा, भरतमोहन अधिकारी, गणेश पण्डित र जीतबहादुर पुरीको निधन भएकोमा शोक प्रस्तावहरु पारित भएका छन्। प्रतिनिधिसभा र साष्ट्रियसभाका अधिवेशन आइतबार मध्यरातदेखि अन्त्य भएको राष्ट्रपतिबाट प्राप्त पत्र दुबै सदनमा पढेर सुनाइएको थियो। जेठ १५ मा बजेट ल्याउनुपर्ने र त्योभन्दा १५ दिनअघि नै पूर्वबजेट छलफल सक्नुपर्ने भएकाले अर्को अधिवेशन करिब एक महिनापछि नै डाक्नुपर्ने अवस्था छ। 

प्रकाशित मिति: १९:१३ बजे, आइतबार, चैत १०, २०७५