कागजमा त धेरै सफलता देखियो तर खोइ कहाँ छ सरकार?: ठाकुर
काठमाडौं, चैत १०ः राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका संसदीय दलका नेता महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीले कागजमा धेरै सफलता देखाए पनि....
काठमाडौं, चैत १०ः राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका संसदीय दलका नेता महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीले कागजमा धेरै सफलता देखाए पनि जनताले भने सरकारको अनुभूति नपाएको बताएका छन्।
आइतबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले जनताको जीवनमा सरकारको उपस्थिति नै नदेखिएको बताए। प्रधामन्त्री केपी शर्मा ओलीको पेश गरेको सफलताको तथ्यलाई कागजी सफलता भन्दै उनले भने,‘प्राइभेट स्कुल बन्द भयो भने शिक्षाको अवस्था के हुन्छ? शिक्षा पाइँदैन यहाँ। निजी अस्पताल बन्द भयो भने कहाँ जाने इलाज गराउन? पानीको देश तर, यदि निजी क्षेत्रले पानी आपूर्ति छाडिदियो भने के अवस्था हुन्छ? सरकार पनि ननफङ्सनिङ अवस्थामा देखिन्छ। जो दैनिक आवश्यकताको चिज जनताले आफ्नो मेहनत र भाग्यबाट मात्र पूर्ति भइरहेको छ भने खोई कहाँ उपस्थिति देखिन्छ त?’
वर्तमान सरकार तानाशाह नभएको बताउँदै उनले भने,‘संसदबाट तानाशाह बनेको पनि इतिहासमा उदाहरण छ। हिटलर र मुसोलिनी पनि जनप्रतिनिधि नै थिए। संसद्बाट नै सत्ता पाएका थिए। संसद्को निर्णयबाट नै तानाशाह बनेका थिए। मलाई विश्वास छ, हामी त्यतातिर त जाने हैन। जब शक्ति एउटा शक्तिमा एउटा व्यक्तिमा केन्द्रित हुन जान्छ भने भ्रष्टाचारको टेन्डेन्सी हुन्छ। डिक्टेटरसिपको टेन्डेन्सी हुन्छ। यो सरकारमा डिक्टेटरको टेन्डेन्सी छ।’
तीन तहमा निर्वाचित सरकार भए पनि प्रदेश र स्थानीय तहका सरकार कागजको फूलजस्तै रहेको बताउँदै उनले भने,‘लोकतन्त्र आइसकेपछि पनि तीनै तहमा प्रतिनिधिमूलक सरकार हुँदा पनि आज सबैचिजको डाइरेक्सन के छ? सबैचिज केन्द्रमा नै राख्नु थियो भने यी संरचना किन? संरचना त लोकतान्त्रिक देखिन्छ तर त्यसलाई नन–फङ्सनिङ बनाइएको छ। संरचनामात्रै कागजको फूल जस्तै। फूलजस्तो त देखिन्छ तर सुगन्ध हुँदैन। स्थानीय तह र प्रदेशको त्यही अवस्था छ।’
अहिले शक्तिको एकाधिकार रहेको बताउँदै ठाकुरले भने,‘केन्द्रिकृत छ लोकतन्त्र। संघर्ष गरेर नै ल्याएको हो। जुन अनुभूति हुनुपर्ने त्यो ठीकविपरीत छ। अनेक किसिमको आतंक छन्। हिंसा भइराखेको छ। बराबरीको कुरा गरिन्छ, के कानूनको रफ्तार बराबरीतिर गइरहेको छ। के नागरिकताको अधिकार बराबरी छ? विभिन्न आतंकबाट जनता प्रताडित नै छ।’
विगतमा राज्य आतङ्कविरुद्ध सबैले हतियार उठाएको रसत्तामा बस्नेहरू सबै जना जेलमा परेको बताउँदै भने, ‘जनता अधिकारबिहीन थिए। अचेत अवस्थामा थिए। सचेत हुनका लागि हतियार उठा । त्यसबेला सफलता पनि मिल्यो। आतंक त अहिले पनि छ।’ पहिचानको आधारमा संघ बन्नुपर्छ भनेर विगतमा संघर्ष भएको उल्लेख गर्दै ठाकुरले प्रश्न गरे,‘त्यो क्राइटेरिया अनुसार संविधान बन्यो त? संघ बन्यो त?’
अहिलेको व्यवस्था यथास्थितिलाई लादिएको बताउँदै उनले भने,‘जब राज्यको आतंक हुन्छ, त्यो सबैभन्दा ठूलो हुन्छ। उसको हातमा गोली हुन्छ। कानून हुन्छ, अदालत हुन्छ। उसले जुनसुकै दिशामा पनि हान्नसक्छ र हानिरहेको छ। लोकतन्त्रमा अधिकारको माग्दा जेल जानुपर्यो, सजय हुनुपर्यो भने कहिले माग्ने हो त? अधिकारको कुरा कहिले गर्ने?’
‘सरकारले आतंक मच्चाउँदा इनाम, प्रशंसा पाउने र तक्मा पाउने तर जनताले आफ्नो अधिकार माग्दा गोली खानुपर्ने। जेल जानुपर्ने। मर्नुपर्ने’, उनले भने,‘संस्कृतिमाथि आक्रमण हुँदा रावरणको नाश भएको थियो। दुर्योधनको नाश भएको थियो। के हामी उतैतिर गइराखेका छौँ।’






