Kathmandu Press

महामारीले ठप्प भएको नेपाली चलचित्रको भविष्य डिजिटल प्लेटर्फममा 

काठमाडौं, साउन १४ : कोरोना भाइरसको महामारीले पाँच महिनादेखि कला क्षेत्र ठप्प छ। चलचित्र क्षेत्रलाई यो महामारीले नराम्ररी असर पारेको छ। 

महामारीले ठप्प भएको नेपाली चलचित्रको भविष्य डिजिटल प्लेटर्फममा 

काठमाडौं, साउन १४ : कोरोना भाइरसको महामारीले पाँच महिनादेखि कला क्षेत्र ठप्प छ। चलचित्र क्षेत्रलाई यो महामारीले नराम्ररी असर पारेको छ। 

सरकारले साउन ७ गतेदेखि लकडाउन हटाए पनि सिनेमा घरहरु भने खोल्न नपाइने निर्णय गरेको छ। यो अवधिमा नयाँ चलचित्र त निर्माण हुन सकेका छैनन् नै लकडाउन अघि निर्माण भएका चलचित्र पनि रिलिज हुन सकेको छैन। 

यस्तो अवस्थामा उपाय के त? नेपाल चलचित्र बोर्डका अध्यक्ष दयाराम दाहाल फिल्मलाई अब डिजिटल प्लेटफर्ममा लैजानुपर्ने बेला आएको बताउँछन्। चलचित्र हललाई पनि बलियो बनाउँदै आधुनिक प्रविधि आत्मसात गर्ने बेला भइसकेको उनको भनाई छ। 

Hardik ivf

नेपाली फिल्मलाई डिजिटल रुपमा लैजाने कुरा चलचित्र विकास र्बोडको मात्र हातमा नरहेको दाहाल बताउँछन्। ‘चलचित्रलाई डिजिटल रुपमा प्रदर्शन गर्न मन्त्रालयसँग कुरा भइरहेको छ,’ उनले भने, ‘डिजिटल प्लेटर्फमलाई वैकल्पिक तरिकाले लैजान नेपाल सरकारले स्पष्ट धारणा बनाउन आवश्यक छ।’

नेपालमा डिजिटल फिल्म प्रदर्शन गर्ने फोपी, भिडियो पसल, सिनेमा घरलगायतका एप्सको निमार्ण भएको छ। यसअघि पुराना फिल्म प्रदर्शन गर्दै आएको डिस होमले लकडाउनको समयमा नयाँ फिल्म पनि प्रदर्शन गरेको छ। लकडाउनको समयमा  डिस होमले ‘हिरो रिटर्न्स’ ‘कोपिला’, ‘तागतवर’ र ‘डु यु लभ मी’ जस्ता नयाँ फिल्म रिलिज गरेको हो। साथै, अमेजन प्राइमले बेलायत र अमेरिकामा पनि चिनी कम रङ कडा फिल्म प्रदर्शन गरिसकेको छ। 

कलाकार एवं निर्माता दीपकराज गिरी भने अहिले नै डिजिटल प्लेटफर्ममा लैजान सक्ने गरी बजार नबनेको बताउँछन्। नयाँ नेपाली चलचित्रलाई डिजिटल प्लेटर्फममा लैजान विश्वसनीय आधार हुनुपर्ने बताउँछन्। ‘केही समयअघि नेपालमा पनि सिनेमाघर र नेफ्लिक्सले नेपाली फिल्मलाई डिजिटल प्रशारण गर्न खोजेपनि सशक्त विषयवस्तु नहुँदा काम हुन नसकेको उनले बताए। 

अहिले फिल्मलाई डिजिटल प्लेटफर्ममा लैजान बजार नबनेको उनको भनाई छ। ‘कुनै निर्माताले एकदेखि दुई करोडसम्म लगानी गरेर बनाएको फिल्मको ग्यारेन्टी डिजिटल प्लेटफर्मले लिन सक्छ भने फिल्म दिन सकिन्छ,’ उनले भने, ‘एउटा फिल्मको १० लाख, २० लाख दिएर यसको भविष्य छैन।’

डिजिटल एप्सले सिमित दर्शकलाई मात्र नभई सबैलाई समेट्न सक्नुपर्ने उनको भनाई छ। ‘फिल्म डिजिटलाइज भएपछि मलेसिया र अमेरिकामा बसेका नेपालीले पनि हेर्नसक्ने बनाउनुपर्छ,’ उनले भने, ‘सिमित क्षेत्रमा समेटिएको एप्सले बजार लिन गाह्रो हुन्छ।’

साथै, डिजिटल प्लेटर्फम नयाँ फिल्म दिँदा लगानी, पाइरेसी सबैको ग्यारेन्टी हुनुपर्ने उनी बताउँछन्। 

त्यस्तै, निर्माता सुदर्शन थापा चलचित्रकर्मीसमेत डिजिटल प्लेटफर्ममा अभ्यस्त नभइसकेको कारण तत्काल डिजिटल प्लेटफर्ममा जान नसकिने धारणा राख्छन् । 
‘नेपालमा डिजिटल एप्स बलियो तरिकाले उत्पादन गर्न सकिएको छैन,’ उनले भने, ‘बाहिर देशमा अमेजन, ओडिटी प्लेटर्फममा फिल्म रिलिज भएपनि उनीहरुले नेपाली फिल्मलाई पत्याएका छैनन्।’

उनको फिल्म ‘प्रेम गीत ३’  प्रदर्शन हुनु भन्दा तीन दिनअघि लकडाउन भयो। हल बन्द हुँदा फिल्म प्रदर्शन हुन सकेको छैन। अब के गर्ने भन्ने उनले तय गर्न पनि सकेका छैनन्।

एप्समार्फत फिल्म रिरिज गर्नु सुरक्षित नभएको उनको तर्क छ। ‘कतिपय मानिसहरु एप्स चलाउँछन्, तर एप्समा फिल्म सुरक्षित छैन,’ उनले भने, ‘हामी चलचित्र क्षेत्रमा लागेको मानिसहरुलाई नै एप्सबारे राम्ररी थाहा छैन भने आम दर्शकमा एप्सको मार्केटिङ गर्न निकै समय समय लाग्छ।’

नयाँ फिल्म रिलिज गर्ने किसिमको नेपालमा विश्वसनीय एप्स नबनेको उनको भनाइ छ। ‘यदि कसैले फिल्म चलाउँछु भनेपनि एकाउन्ट विदेशबाट खोल्नुपर्ने हुन्छ,’ उनले भने, ‘पैसा तिर्न यहाँ हाम्रो कार्ड चल्दैन।’

फिल्मलाई अहिले डिजिटलाइज गर्नुभन्दा पनि सामाजिक दूरी कामय गरेर हलमा फिल्म प्रदर्शन गर्ने समय आएको उनको तर्क छ। 

फोपी एप्सका फाउण्डर प्रशान्तराज कार्कीका अनुसार नेपाली फिल्मलाई कोभिड १९ ले डिजिटल प्लेटर्फमा जाने अवसर दिएको छ। एप्समार्फत उनी नेपाली फिल्म धुलो, बुलबुल, र लब डायरीजलाई प्रदर्शनमा ल्याउने तयारीमा लागेका छन्। 

निर्माताहरुमा पुरानै मानसिकता भएको कारण एप्सबाट फिल्म प्रदर्शन गर्न नसकिएको उनको बुझाई छ। ‘एप्सलाई निर्माताहरुले व्यवसायिक दृष्टिकोणबाट हेर्नुभएको छैन,’ उनले भने, ‘नेपाली फिल्म उद्योगमा डिजिटल प्लेट फर्मलाई दिर्घकालिन व्यवसायको रुपमा कलाकाहरुले पनि लिन सकेका छैनन्।’

पहिले पनि एप्सबाट फिल्म प्रदर्शन गरिसकेका कार्की भन्छन, ‘एप्समार्फत फिल्म प्रदर्शन गरेको केही दिनमै निर्माताहरु युट्युवमा राख्न हतारिनु हुन्छ। जसले गर्दा डिजिटल प्रदर्शनले व्यवसायीकता पाउन सकेको छैन।’

उनले नेपाली फिल्मका निर्माता, चलचित्र विकास र्बोडसँग फिल्मलाई डिजिटल प्लेटर्फमलाई कसरी लैजाने भन्ने कुराकानी भएपनि ठोस निर्णय भने केही नभएको बताए।

प्रकाशित मिति: १४:३४ बजे, बुधबार, साउन १४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्