करिअर : ठूलो पोखरीको सानो माछा कि सानो पोखरीको ठूलो माछा ?
सफल करिअर सबैको लक्ष्य हो । तर सुरू कहाँबाट गर्ने?
कुनै प्रतिष्ठित संस्थाबाट काम सुरू गरेर ठूलो पोखरीमा सानो माछा हुने कि ? प्रभावशाली पद रोजेर सानो पोखरीमा ....
सफल करिअर सबैको लक्ष्य हो । तर सुरू कहाँबाट गर्ने?
कुनै प्रतिष्ठित संस्थाबाट काम सुरू गरेर ठूलो पोखरीमा सानो माछा हुने कि ? प्रभावशाली पद रोजेर सानो पोखरीमा ठूलो माछा बन्ने ? दुविधा सबैलाई उस्तै हुन्छ।
यसको उत्तर क्याट कोलसँग छ । तर उत्तर भने तपाईंले अपेक्षा गरेजस्तो पटक्कै छैन । मात्रै ३२ वर्षको उमेरमा क्याट कोल ‘सिन्नाबोन’ की अध्यक्ष बनिन् । सिन्नाबोनको बजार मूल्य अहिले अर्बाै डलर छ । यद्यपि उनको तीव्र वृद्धि कुनै ‘ब्लु–चिप कम्पनी’ वा प्रभावशाली पदबाट भएको हैन । उनको करिअर ‘हुटर्स’ नामक रेस्टुरेन्ट ‘चेन’को वेट्रेसबाट सुरू भएको हो।
प्रायः मानिसलाई कुनै प्रतिष्ठित कार्यस्थलले लोभ्याउँछ । तर ठूलो पोखरी सधैं उपयुक्त हुँदैन । सन् २०१७ मा अनुसन्धाताहरूले व्यावसायिक फुटबल टिमहरूको एउटा अध्ययन गरे । रेलिगेसनमा परेर तल्लो डिभिजनको टिमबाट खेल्ने खेलाडीलाई कस्तो प्रभाव पर्छ भनेर जान्न चाहन्थे । अध्ययनमा रेलिगेसनमा परेका र नपरेका दुवै थरी टिमका खेलाडी सहभागी थिए।
तल्लो डिभिजनमा झरेका टिम खासै प्रतिस्पर्धा नहुने सानो पोखरीमा थिए । तर ती टिमका खेलाडीले पछि निकै ठूला र प्रतिष्ठित लिग खेले । धेरै पारिश्रमिक पनि पाए । किन ? उनीहरूले खेल्ने समय धेरै पाए । मुख्य भूमिकाका लागि थोरै प्रतिष्पर्धा थियो । फलस्वरूप उनीहरूको करिअरले गति लियो।
विकासका लागि राम्रा अवसर सधैंभरि प्रभावशाली स्थानमा हुँदैनन् । ती त तपाईं प्रभावशाली बन्नसक्ने स्थानमा लुकेका हुन्छन् । जहाँ तपाईंले सीप र सामाजिक पुँजी बटुल्न सक्नुहुन्छ । नयाँ, साना वा कम प्रतिष्ठित ‘ल फर्म’ले बढी सफलता पाएका प्रमाणहरू प्रशस्तै छन् । तिनै कम्पनीका ‘एसोसिएट’ को पदोन्नति हुने सम्भावना पनि बढी हुन्छ।
तर ‘बेस्ट करिअर अवसर’को खोजीमा हुनुहुन्छ भने, सानो पोखरीको ठूलो माछा बन्नु आवश्यक पनि छैन । त्यहाँ तपाईंको वृद्धि–विकास नहुने जोखिम हुन्छ किनभने सानो पोखरीले तपाईंको सीपको विकास र भरपुर सदुपयोग नगर्नसक्छ । अथवा तपाईंको क्षमता र सम्भावनालाई प्रसार गर्न असक्षम हुनसक्छ।
‘फच्र्युन’को वरियतामा परेका कम्पनीबाट उदाउने ‘बैंक एक्जिक्युटिभ’को करिअर बढी सफल हुने अनुसन्धानले देखाउँछ । अब प्रश्न उठ्छ – दुवै पोखरीबाट सकेसम्म धेरै फाइदा लिने कुनै उपाय छ त?
किशोरावस्थाको उत्तरार्द्धदेखि २० को दशकसम्म, आफूलाई सक्षम, सहयोगी र प्रतिबद्ध कर्मचारी पुष्टि गर्न उनी सफल भएकोले हुटर्समा कोलको एकपछि अर्काे पदोन्नति भयो । यो एउटा पाटो थियो । मात्रै २१ वर्षको उमेरमा कम्पनीको पहिलो शाखा खोल्न कोल सिड्नी पुगेकी थिइन् । अनि २६ वर्ष पुग्दा ‘कर्पाेरेट’ तालिम सञ्चालन गर्ने ‘भाइस प्रेजिडेन्ट’ बनिन् । तर कुनै विशाल कर्मचारीतन्त्र वा बाँच्नलाई संघर्ष गरिरहेको कम्पनीबाट काम सुरू गरेको भए, कोलले क्षमता, सम्पर्क र योगदान निर्माण गर्ने समान अवसर पाउँदिन थिइन्।
हुटर्स तीव्र विस्तार हुँदै थियो । विश्वभरि एकपछि अर्काे रेस्टुरेन्ट खोल्दै थियो । प्रतिष्ठित कम्पनीको छाप नलागेकोले, कुनै ‘सुपरस्टार’लाई काममा राख्ने ‘लक्जरी’ कम्पनीसँग थिएन।
‘हुटर्समा काम गर्नलाई व्हार्टनबाट एमबिए गरेकाहरू लाम लागेका थिएनन् । त्यसैले आवश्यक प्रतिभा कम्पनीभित्रै खोज्नुपर्ने भयो,’ कोल भन्छिन् । ‘त्यसैले बाहिरबाट आउने प्रतिभाको अभावका कारण मैले त्यो कम्पनीमा विकास र वृद्धिको असमान अवसर पाउँदै थिएँ ।’
अब अर्काे ‘काम’ खोज्दा, तपाईंले – ठूलो पोखरी र ठूलो माछा – कहाँ जाने र के हुने भनेर दुविधा हुनेछैन । बढिरहेको पोखरी रोज्नु बुद्धिमानी हुनेछ किनभने त्यहीं नै तपाईं सबैभन्दा ठूलो माछा बन्नुहुनेछ । अर्थात् विकास र वृद्धिका अवसर सबैभन्दा धेरै हुनेछ ।
एडम ग्रान्ट व्हार्टनका संस्थागत मनोविद् हुन् । यो लेख न्यूयोर्क टाइम्सबाट अनुदित हो ।