Kathmandu Press

केयुका उपकुलपतिले दिलाए तीन पदमा दोस्रो पटक एकै व्यक्तिलाई नियुक्ति

काठमाडौं, साउन १३ : काठमाडौं विश्वविद्यालयका उपकुलपति रामकण्ठ मकाजुले विश्विवद्यालयको सिनेटमा प्रस्तुत भएको आवधिक पदको मापदण्ड विपरीत एकै व्यक्तिलाई त....

केयुका उपकुलपतिले दिलाए तीन पदमा दोस्रो पटक एकै व्यक्तिलाई नियुक्ति

काठमाडौं, साउन १३ : काठमाडौं विश्वविद्यालयका उपकुलपति रामकण्ठ मकाजुले विश्विवद्यालयको सिनेटमा प्रस्तुत भएको आवधिक पदको मापदण्ड विपरीत एकै व्यक्तिलाई तीन मुख्य पदमा नियुक्ती दिलाएका छन्। 

असार २८ मा भएको सिनेटमा विश्वविद्यालयका सहकुलपति शिक्षामन्त्री गिरिराजमणी पोखरेललाई बुझाइएको आवधिक पदहरुको मापदण्ड विपरीत डा. रमेश मकाजुलाई तीन मुख्य पदमा नियुक्ति दिलाइएको विश्व विद्यालयका प्राध्यापक डा. विभुती रन्जन झाले बताए।  

उपकुलपति मकाजुले धुलिखेल अस्पतालका निर्देशक डा. मकाजुलाई अस्पतालकै प्रशासकीय अधिकृत र स्कुल अफ मेडिकलको एसोसिएट डिनमा पुनः नियुक्ति दिएका हुन्। डा. मकाजु यसअघि पनि तीन वटै जिम्मेवारीमा थिए। तर विश्वविद्यालयका प्राध्यापकहरुले एकै व्यक्तिले तीन वटा जिम्मेवारी पाएको भन्दै विरोध जनाएका थिए। 

असारको अन्तिममा उनको कार्यअवधि सकिएको थियो। तर उपकुलपतिले मकाजुलाई तीन वटै पदमा नियुक्ति दिएपछि प्रध्यापकहरुले विरोध गरेका छन्। २८ गतेको सिनेटमा अवधिक पदहरुको मापदण्ड कार्यान्वयनका लागि राष्ट्रिय योजना आयोगकी सदस्य उषा झाले शिक्षामन्त्री गिरिराजमणी पोखरेललाई बुझाइसकेको अवस्थामा उपकुलपतिको कार्यशैली पुरानै रहेको भन्दै प्रध्यापकहरुले विरोध गरेका हुन्। मापदण्डमा एक व्यक्ति एक जिम्मेवारीको व्यवस्था गरिएको छ। आवधिक पदको मापदण्ड बुझ्दै पोखरेलले कार्यान्वयन गर्न निर्देशन दिएका थिए।

‘मापदण्ड  मन्त्री समक्ष पेश भइसकेको अवस्थामा जबरजस्ती दुई फरक संस्थाको मुख्य जिम्मेवारी एकै व्यक्तिलाई दिइएको छ,’ झाले भने, ‘यो विश्वविद्यालयको प्रावधान विपरित छ। यो उपकुलपतिको नीतिगत भ्रष्टाचार हो। यहाँ  १५ सय मानिसलाई रोजगारी दिइएको भनिएको छ।  तर एकै व्यक्तिलाई तीन पदमा नियुक्ति दिइयो। त्यो पनि आफू निकटलाई।’ 

धुलिखेल अस्पताल र काठमाडाैं विश्वविद्यालय फरक संस्था भएको र दुवै संस्थामा एकै व्यक्ति महत्वपूर्ण जिम्मेवारीमा रहँदा स्वार्थ बाझिने प्राध्यापकहरुको तर्क छ। ‘दुई फरक संस्थामा एकै व्यक्तिलाई जिम्मेवारी दिँदा स्वार्थ बाझिन्छ। एसोसिएट डिन आफैंमा पूर्णकालिन वैतनिक पद हो। सँगै मुख्य प्रशासकीय अधिकृत पनि भनिएको छ,’ अर्का एक प्रध्यापकले भने,’ उपकुलपतिले आफ्ना मान्छेलाई मात्रै जिम्मेवारी दिने गर्नु भएको छ।  त्यसको पुष्टि यसले गर्छ।’

सिनेटमा पेश गरिएकाे मापदण्ड

प्रकाशित मिति: १३:४९ बजे, मंगलबार, साउन १३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्