Kathmandu Press

सरकारको अपिलः विप्लव समूहको धम्कीसँग नडराउनू, चन्दा मागे प्रहरीलाई खबर गर्नू

काठमाडौं, चैत १०: सरकारले प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग डराएर आर्थिक र भौतिक सहयोग नगर्न अपिल गरेको छ।....

सरकारको अपिलः विप्लव समूहको धम्कीसँग नडराउनू, चन्दा मागे प्रहरीलाई खबर गर्नू

काठमाडौं, चैत १०: सरकारले प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग डराएर आर्थिक र भौतिक सहयोग नगर्न अपिल गरेको छ। 

गृह मन्त्रालयले आइतबार विज्ञप्ति निकालेर विप्लव समहूलाई आर्थिक तथा भौतिक सहयोग गर्नेमाथि कारबाही हुने प्रष्ट पनि पारेको हो। विप्लव समूहले त्रास र धम्की दिँदै चन्दा मागे तत्काल प्रहरीलाई खबर गर्न पनि गृह मन्त्रालयले आग्रह गरेको छ।

‘विप्लव समूहबाट सञ्चालित आपराधिक तथा विध्वंसात्मक क्रियाकलापमा प्रत्यक्ष वा अप्रत्यक्षरुपमा संलग्न र सहयोग पुर्‍याउने व्यक्ति, संस्था वा त्यस्तो कार्य गर्ने अन्य समूहहरुलाई समेत प्रचलित कानूनबमोजिम कारबाही हुनेछ,’ गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव रामकृष्ण सुवेदीद्वारा जारी विज्ञप्तिमा भनिएको छ। 

गृह मन्त्रालयले विप्लव वा अन्य कुनै आपराधिक क्रियाकलाप गर्ने समूहलाई कुनै किसिमको आर्थिक, भौतिक सहयोग नगर्न एवं त्रास, धम्की र प्रलोभनमा नपर्न पनि आग्रह गरेको छ। ‘यदि कोही कसैबाट जबरजस्ती आर्थिक सहयोग माग गर्ने/धम्की दिने कार्य भए गरेमा सो को सूचना तत्काल नजिकको प्रहरी प्रशासनलाई दिन हुन अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ।

सरकारले विप्लव नेतृत्वको नेकपा आपराधिक तथा ध्वंसात्मक क्रियाकलापमा लागेको भन्दै गत फागुन २८ गते प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। प्रतिबन्ध लगाएको दुई साता बित्न नपाउँदै शनिबार प्रहरीले विप्लव समूहका शीर्ष नेता मध्येका एक हेमन्तप्रकाश वली ‘सुदर्शन’ सहित ८ जनालाई काभ्रेबाट पक्राउ गरेको थियो। 
 

प्रकाशित मिति: १६:३४ बजे, आइतबार, चैत १०, २०७५