Kathmandu Press

बममाथि सुतेर विप्लव समूहसँग वार्ता गर्दैनाैं: प्रवक्ता बाँस्कोटा

काठमाडौं, चैत १०: सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले बम र बन्दुकमाथि सुतेर कसैसँग सरकारले वार्ता नगर्ने बताएका छन्। 

का....

बममाथि सुतेर विप्लव समूहसँग वार्ता गर्दैनाैं: प्रवक्ता बाँस्कोटा
फाइल फोटो

काठमाडौं, चैत १०: सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले बम र बन्दुकमाथि सुतेर कसैसँग सरकारले वार्ता नगर्ने बताएका छन्। 

काठमाडाैंमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रवक्ता बाँस्कोटाले नेत्रविक्रम चन्द नेतृत्वको समूहले बम र बन्दूक त्यागेर आए मात्रै सरकारले वार्ता गर्ने बताएका हुन्। उनले भने,'बममाथि सुतेर वार्ताको कल्पना गरिन्न। बम निस्तेज गरेर आउनुस्, बकाइदा वार्ता हुन्छ।' 

उनले हिंसात्मक गतिविधिलाई प्रोत्साहन दिएर गरिने पत्रकारिता प्रेस स्वतन्त्रताको मर्यादाभित्र नरहने बताए। सञ्चार क्षेत्रमाथि प्रश्न गर्दै मन्त्री बाँस्कोटाले भने,'अन्यायविरुद्ध बोल्ने पत्रकारिताको धर्म हो तर हिंसा गर्न पाउनुपर्छ वा हिंसा गरेको ठीक छ भनेर लेखिनु स्वतन्त्रतामा पर्छ कि पर्दैन? रेडियोमा बसेर बन्द र हिंसा गर्न पाइन्छ भन्ने अनि पत्रकार पक्राउ परेमा नेपाल पत्रकार महासङ्घले विरोध गर्ने? यो कस्तो संस्कार हो?' 

मन्त्री बाँस्कोटाले सरकारले सामाजिक सञ्जाललाई करको दायरामा ल्याउन खोज्दा बन्द गर्न खोज्यो भनिएको गुनासो गर्दै एक पटक दर्ता गरेपछि निरन्तर नभए पनि त्यो पत्रिका रहिरहने स्थितिमा समीक्षा गर्न आग्रह गरे।

सञ्चारमाध्यम अहिले कम्पनी रहेको र भोलि उद्योगमा जाने भएकाले उद्योगकै मान्यताबाट अघि बढ्नुपर्ने बताउँदै उनले भने,'उद्योगमा गएपछि मजदूरलाई ज्याला नदिए कारवाही हुन्छ । छुट लिन उद्योग चाहिने र नचाहिएको काम गर्न प्रेस स्वतन्त्रताको छाता ओढ्न पाइने कि नपाइने?' 
 

प्रकाशित मिति: १५:२२ बजे, आइतबार, चैत १०, २०७५