Kathmandu Press

का‌ंग्रेसले अनुशासन उल्ल‌ंघन गर्नेलाई धमाधम कारवाही गर्दै

काठमाडौं, साउन ११ : नेपाली कांग्रेसले पार्टी विधानको अनुशासन उल्लंघन गर्नेलाई कारवाही प्रक्रिया तीव्र बनाएको छ। कांग्रेसको केन्द्रीय अनुशासन समितिले ग....

का‌ंग्रेसले अनुशासन उल्ल‌ंघन गर्नेलाई धमाधम कारवाही गर्दै

काठमाडौं, साउन ११ : नेपाली कांग्रेसले पार्टी विधानको अनुशासन उल्लंघन गर्नेलाई कारवाही प्रक्रिया तीव्र बनाएको छ। कांग्रेसको केन्द्रीय अनुशासन समितिले गत तीन तहका निर्वाचनमा पार्टीको उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिने, असहयोग गर्ने र पार्टीको अनुशासन उल्लंघन गर्ने अधिकांशलाई कारवाही गरेको हो। 

समितिमा स्थानीय, प्रदेश एवं संघीय निर्वाचनको क्रममा पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्तालाई आधिकारिक उम्मेदवारलाई असहयोग गरेको भनी नगर वडासमिति, साविकको गाविस वा गाउँपालिका कार्यसमिति, नगर कार्यसमिति तथा साविकको क्षेत्रीय कार्यसमितिबाट सिफारिस भई आएका र सम्बन्धित उम्मेदवारको समेत गरी एक हजार २५० उजूरी परेका थिए। 

सो उजूरीमध्ये छानबिन गरी अधिकांशलाई विधानअनुसार कारवाही गरिएको समिति सदस्य धनराज गुरुङले जानकारी दिए। शनिबार बसेको समिति बैठकले तनहुँ निवासी पूर्व सहमहामन्त्री एवं पूर्वमन्त्री गोविन्दराज जोशी र कैलाली निवासी पूर्व राज्यमन्त्री एवं महासमिति सदस्य पुष्करनाथ ओझालाई पार्टीको विधानअनुसार अनुशासन उल्लंघन गरेको आरोपमा पाँच वर्षका लागि पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको छ। 

जोशीलाई पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध उम्मेदवारी दिएको र ओझालाई पार्टीका आधिकारीक उम्मेदवार आरजु राणा देउवालाई असहयोग गरेको आरोपमा कारवाहीको माग गर्दे उजूरी परेको थियो। 

यसैगरी बैठकले डडेल्धुराका जिल्ला कार्यालय सचिव रामबहादुर विष्टलाई पार्टीको विधानअनुसार अनुशासन उल्लंघन गरेको आरोपमा तीन वर्षका लागि पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको समितिले जनाएको छ। उनीहरु तीनै जनालाई समितिको गत फागुन १९ गतेको बैठकले कारवाही किन नगर्ने भनी तीन दिनको म्याद राखी अन्तिम स्पष्टिकरण सोधेका थियो।

उनीहरुको स्पष्टिकरण चित्तबुझ्दो नभएको र केन्द्रीय अनुशासन समितिलाई प्राप्त सबुद प्रमाण अडियो भिडियोको आधारमा तीनै जनाले विधानअनुसार अनुशासन उल्लंघन गरेको आरोपमा पार्टीबाट निष्काशन गर्ने निर्णय गरिएको हो। समितिले यसअघि पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिने, निजका प्रस्तावक र समर्थक गरी जम्मा २७९ जनालाई पाँच वर्षका लागि पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको नेता गुरुङले जानकारी दिए। समितिले बाँकेका महासमिति सदस्य महेन्द्र मल्ललाई विधानबमोजिम अनुशासन उल्लंघन गरेको भन्दै गत असार २४ गते पाँच वर्षका लागि पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको थियो। 

यसैगरी समितिले उजूरीसँग सम्बन्धित बाँकी आरोपीलाई पार्टीको वृहत्तर हितमा कार्य गर्न सचेत गराउँदै आगामी दिनमा निजहरुले पार्टीमा खेल्ने भूमिका एवं गतिविधिअनुसार मूल्यांकन गर्दै जाने कुरा सूचित गर्ने निर्णय गरेको छ।

समितिले उजूरीसँग सम्बन्धित आरोपीलाई स्पष्टिकरणको पत्राचार गरिएकामा कतिपय जिल्लाबाट आरोपितहरुलाई पत्र नबुझाएको भन्ने गुनासो आरोपितबाट आएको हुँदा पार्टीका सम्बन्धित जिल्ला सभापतिलाई समेत सचेत गराएको छ। कांग्रेस केन्द्रीय सदस्य भीष्मराज आङदेम्बे संयोजकत्वको केन्द्रीय अनुशासन समितिमा पार्टीका केन्द्रीय सदस्यहरु उमाकान्त चौधरी, धनराज गुरुङ, किशोरसिंह राठौर र देवेन्द्रराज कँडेल सदस्य छन्।

प्रकाशित मिति: १५:१३ बजे, आइतबार, साउन ११, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्