सीमा जोडिएका भारतीय राज्यमा कोरोना संक्रमण तिव्र, नेपालमा पनि उच्च जोखिम
काठमाडौं, साउन ११ : संक्रमणको जोखिम कम हुँदै गएको भन्दैै सरकारले लकडाउन खोले पनि नेपालसँग जोडिएका भारतीय राज्यमा भने कोरोना भाइरस फैलिँदै गएको छ। जसले....

काठमाडौं, साउन ११ : संक्रमणको जोखिम कम हुँदै गएको भन्दैै सरकारले लकडाउन खोले पनि नेपालसँग जोडिएका भारतीय राज्यमा भने कोरोना भाइरस फैलिँदै गएको छ। जसले नेपालको सीमा क्षेत्रमा कोरोना संक्रमणको जोखिम झन बढ्दै गएको छ।
केही समयअघि भारतको महाराष्ट्र, दिल्ली, तमिलनाडु र गुजरातलगायतका राज्यमा कोरोनाको संक्रमण अत्यधिक रहेको थियो। नेपालसँग सीमा जोडिएका राज्यमा संक्रमण कम रहेको थियो।
तर, पछिल्लो समय सीमा जोडिएका उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल, उत्तराखण्ड र सिक्कीममा कोरोनाको संक्रमण बढ्दै गएको छ। यसले नेपालको सीमा क्षेत्रका जिल्लामा संक्रमण फैलिने जोखिम बढेको छ।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार नेपालसँग जोडिएका पाँच राज्यमध्ये सबैभन्दा बढी उत्तर प्रदेशमा कोरोना संक्रमित भेटिएका छन्। आइतबार मध्याह्नसम्मको तथ्यांकअनुसार, उत्तर प्रदेशमा कोरोना संक्रमितको संख्या ६३ हजार सात सय ४२ पुगेको छ। जसमध्ये एक हजार तीन सय ८७ जनाको मृत्यु भएको छ।
दोस्रो नम्बरमा रहेको पश्चिम बंगालमा कोरोना संक्रमितको संख्या ५६ हजार तीन सय ७७ पुगेको छ। कोरोनाबाट एक हजार तीन सय ३२ जनाले ज्यान गुमाएका छन्।
त्यस्तै, बिहारमा ३६ हजार तीन सय १४, उत्तराखण्डमा पाँच हजार चार सय ४५ र सिक्कीममा चार सय ४७ जनामा कोरोना देखिएको हो। यस अघि कोरोना नदेखिएको सिक्कीममा केही दिनयता मात्रै संक्रमण सुरु भएको हो।
अहिलेसम्म भारतमा कोरोना संक्रमितको संख्या १३ लाख ८९ हजार ९७ पुगेको छ। आज बिहान मात्रै तीन हजार ६ सय तीन नयाँ संक्रमित थपिएका छन्।
कोरोनाबाट भारतमा ३२ हजार एक सय २७ जनाले ज्यान गुमाएका छन्। अझै आठ हजार नौ सय ४४ जना गम्भीर रहेका छन। उनीहरुको आईसीयू तथा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।
नेपालमा भने कोरोना संक्रमतिको संख्या १८ हजार चार सय ८३ पुगेको छ। जसमध्ये ४५ जनाले ज्यान गुमाएका छन्। केही दिनयता भारतसँग सीमा जोडिएका तराईका जिल्लामा कोरोनाको संक्रमण बढेको छ।
तराईका जिल्लामा समुदायमा संक्रमण फैलिएको चिकित्सकहरुले बताएका छन्। समुदायमा संक्रमण फैलिएपछि वीरगञ्ज सिल गरिएको छ।











