धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेकाे विपीको तस्बिर हटाएकाेमा तरुण दलको आपत्ति
काठमाडौं, साउन ११ : धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानमा राखिएको विपीको तस्बिर हटाइएपछि कांग्रेसको भातृ संस्था तरुण दलले आपत्ति ....

काठमाडौं, साउन ११ : धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानमा राखिएको विपीको तस्बिर हटाइएपछि कांग्रेसको भातृ संस्था तरुण दलले आपत्ति जनाएको छ।
अध्यक्ष जितजंग बस्नेतले आइतबार विज्ञप्ती जारी गर्दै विपीको अस्तित्व मेटाउने प्रयत्न कतैबाट पनि भए तरुण दललाई सह्य नहुने बताएका छन्।
‘महामानव विपी कोइरालाको नाममा स्थापना भएको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान कार्यालयमा सुरुवाती अवस्थाबाट राखिएको महामानव वीपी कोइरालाको तस्बिर वर्तमान उपकुलपतिको निर्देशनमा हटाइएको भन्ने समाचार सुन्नमा आएकोले सो कार्य खेदजनक निन्दनीय कार्य हो,’ विज्ञप्तीमा भनिएको छ, ‘अर्काको अस्तित्व स्विकार गर्न नसक्ने यस्ता घृणित मानसिकता प्रती नेपाल तरुण दलको गम्भीर ध्यानाकर्षण भएको छ।’
तरुण दलले हटाइएको तस्बिर सोही स्थानमा अविलम्ब नराखिए आन्दोलनमा उत्रीन बाध्य हुने र त्यसबाट उत्पन्न हुने सम्पुर्ण परिस्थितिको जिम्मा उपकुलपतिले लिनुपर्ने चेतावनी दिएको छ।











