Kathmandu Press

ओलीप्रति आक्रोश पोख्दै प्रचण्ड–माधवले भने,‘हाम्रो गठबन्धन पार्टी विभाजन रोक्नका लागि’

काठमाडाैं, साउन ९ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपालले आफूहरुको गठबन्धन पार्टी एकता बच....

ओलीप्रति आक्रोश पोख्दै प्रचण्ड–माधवले भने,‘हाम्रो गठबन्धन पार्टी विभाजन रोक्नका लागि’
फाइल

काठमाडाैं, साउन ९ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपालले आफूहरुको गठबन्धन पार्टी एकता बचाउन बनेको संकेत गरेका छन्।

शुक्रबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै दुवै नेताले अध्यक्ष ओलीले एकताविरोधी गतिविधिमा लागेकाले पार्टीलाई विभाजनबाट बचाउन आफूहरु क्रियाशील रहेको बताएका हुन्।  कार्यक्रममा अध्यक्ष प्रचण्डले निर्वाचनमा आयोगमा  प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीकै सक्रियता र पहलमा नेकपा एमाले दर्ता भएको भन्दै आपत्ति जनाए। 

'अहिले पार्टी संकटमा छ। पार्टी ठीकठाक छ भनेर मैले भने भने त्यो सत्य हुँदैन', उनले भने। प्रचण्डले ओलीको पक्षमा देशभर भइरहेको नारा जुलुसप्रति पनि असन्तुष्टि व्यक्त गरेका छन्।  यस्तै, नयाँ नक्सा जारी गरेको जस ओलीले एकलौटी लिएको उनको आरोप थियो।

 'पार्टीको सामूहिक निर्णयबाट पारित विषयलाई आफ्नो खल्तीमा हाल्ने प्रयास इमान्दार हुन सक्दैन,' उनले भने, 'समयमै नक्सा प्रकाशित गर्नुपर्छ भनेर निर्णय गराउनेहरु राष्ट्रघाती दलाल, जसले प्रकाशित गर्न महिनौँ ढिलो गर्‍यो, उसैको देवत्वकरण? त्यो हुनसक्दैन।'

यस्तै उनले पार्टीको विचार जनताको जनवाद नै हुनुपर्ने भन्दै त्यसलाई छाड्दा पार्टी विभाजनतर्फ धकेलिने उल्लेख गरे। 'एकताको आधार बनेको विचारलाई छाड्दा एकअर्काको विचार, भावना र संवेदनशीलतालाई हामी सम्बोधन गर्नेतिर लागेका छैनौँ भन्ने सन्देश दिन्छ,' उनले भने,' यसले थप विभाजनतर्फ धकेल्छ त्यसो नगरौँ।'

कार्यक्रममा उनले अध्यक्ष ओलीलाई एकताप्रति कुनै मोह नभएको समते आरोप लगाए। 'एकताप्रति तपाईंलाई माया छैन, न कुनै रुपमा एकतालाई क्षति पुग्ने गतिविधि गर्नुहुन्छ। तपाईंलाई सामूहिक निर्णयप्रति विश्वास छैन भने तपाईं व्यक्तिगत फैसलालाई नै सर्वोपरी ठान्नुहुन्छ। र त्यसो ठानियो भने हामीले यो एकतालाई निरन्तर गति दिन र विकसित गर्न सम्भव हुँदैन', उनले भने।

यस्तै, वरिष्ठ नेता नेपालले नेतृत्वमा व्यक्तिवादी चरित्र हाबी भएकाले पार्टी एकतामा संकट कायम भएको उल्लेख गरे। उनले पार्टी एकता बचाउन र विधिबाटै पार्टीलाई चलाउने सिद्धान्त बोकेकाहरु पार्टीमा बलियो हुँदै गएको उल्लेख गरे।

'हाम्रो निम्ति व्यक्ति होइन, विधि, नीति र पद्धति प्रमुख कुरा हो। सामूहिकताको आधारमा निर्णय गर्ने र त्यसको सबैले पालना गर्ने लेलिनवादी संगठनात्मक सिद्धान्त, जुन हाम्रो पार्टीको विधानले अगाडि सारेको छ, बहुमतको निर्णय नै पार्टीको निर्णय हुने छ भनेर लेखेको छ, त्यसलाई सबैले शिरोपर गर्नुपर्ने हुन्छ', नेता नेपालले भने, 'म मान्दिनँ, म मान्न बाध्य छैन आदि/इत्यादि भन्न कसैले छुट पाउँदैन।'

कार्यक्रममा दुवै नेताले पार्टीलाई कुनै पनि हातलमा विभाज हुनेबाट जोगाउने प्रतिबद्धता व्यक्त गरेका छन्। 'पार्टी विभाजन हुन दिइने छैन। यो विश्वास म तपाईंहरुलाई दिन चाहन्छु। पार्टीलाई एकतावद्ध राखिने छ', प्रचण्डले भने। यस्तै, नेता नेपालले पार्टी फुट्ने डर नराख्न कार्यकर्ताहरुलाई आग्रह गरे। कुनै पनि हालतमा पार्टी नफुट्ने उनको भनाइ थियो।

'तपाईंहरुलाई चिन्ता छ, कम्युनिष्ट पार्टी फुट्छ कि भनेर, फुट्दैन। कम्युनिष्ट पार्टी फुट्नेवाला छैन। कसैले भन्दिहाल्यो, पत्रिकामा आइहाल्यो भने पार्टी फुट्छ कि भनेर डरले थरथर काम्न थाल्छौं। थर्किनुपर्ने केही आवश्यकता छैन', नेता नेपालले भने।

असार दोस्रो साता यता प्रधानमन्त्री ओलीले अध्यक्ष वा प्रधानमन्त्री दुवैबाट राजीनामा दिनुपर्ने माग प्रचण्ड र नेपालले राख्दै आएका थिए। त्यसयता पार्टीको बैठकमा उनीहरुले ओलीको आलोचना गरेपनि सार्वजनिक रुपमै संयुक्तरुपमा आक्रोश व्यक्त गरेको यो पहिलो पटक हो।

प्रकाशित मिति: १९:२९ बजे, शुक्रबार, साउन ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्