Kathmandu Press

विदेशिएको पाँच महिनामा आयो शव, घर पहिराेकाे जाेखिममा 

बागलुङ, साउन ९ : गत हिउँदमा परिवारसँग छुट्टिएर विदेश हिँड्दा गलकोट नगरपालिका–७ मल्मका लक्ष्मण सुनारको वाचा थियो छिट्टै घर फर्कने। दुर्भाग्य....

विदेशिएको पाँच महिनामा आयो शव, घर पहिराेकाे जाेखिममा 

बागलुङ, साउन ९ : गत हिउँदमा परिवारसँग छुट्टिएर विदेश हिँड्दा गलकोट नगरपालिका–७ मल्मका लक्ष्मण सुनारको वाचा थियो छिट्टै घर फर्कने। दुर्भाग्य, साउदी अरब पुगेको तीन महिनामै सुनारले आकस्मिक मृत्यु भयो। धन कमाउन विदेशिएका उनी बाकसमा फर्किए।

फागुन पहिलो साता साउदी अरब पुगेका ४२ वर्षीय सुनारको गत जेठ ११ मा निधन भयो। शव भने गत सोमबार मात्र आइपुग्यो। कोरोनाले निम्त्याएको बन्दाबन्दीका कारण शव ल्याउनै झण्डै दुई महिना लाग्यो। परिवारले अन्तिमपटक मुख हेर्ने धोको राखेपछि खर्चिलो र झण्झटिलो भए पनि सुनारको शव घरै ल्याइएको हो। मंगलबार अन्तिम संस्कार गरेपछि छोराहरु दिनेश र विनोद अहिले बुबाको किरियामा बसेका छन्।

'म पनि भारतमा थिएँ, तीन/चार वर्षदेखि बुबालाई भेट्न पाएको थिइँन, अब यत्तिकै भयो,' २१ वर्षीय दिनेशले भने, 'हामी विदेश लागेपछि घरमा आमा र भाइमात्र थिए।' १८ वर्षीय विनोद बीचमै पढाइ छाडेर घरमै बसेका छन्। आमा सीमा ज्यालादारी काम र घरधन्दा सम्हाल्छिन्। लक्ष्मणको कमाइका भरमा परिवार पालिएको थियो। घरको मुली मान्छे नै गुमाउनु परेपछि सुनार परिवारलाई अकल्पनीय बज्र परेको छ। आर्थिक स्थिति दयनीय छ। जायजेथाले बिहान–बेलुकीको निर्वाहसम्म हुँदैन। 'बुबा बितेर गए पनि हामी दुई भाइ छौं अब केही गर्नुपर्ला, आमा र परिवारको भविष्य हाम्रो काँधमा आएको छ,' दिनेशले भने।

दिनेश पनि रोजगारीका सिलसिलामा केही वर्षदेखि दिल्लीमा थिए। बुवाको निधनको खबर पाएपछि बन्दाबन्दीबीच उनी घर फर्किए। लक्ष्मण रोजगारीका लागि शुरुमा कुवेत र त्यसपछि साउदी अरब गएका थिए। उनलाई पहिलेदेखि नै उच्च रक्तचापको समस्या रहेको छोरा दिनेशले बताए। 'त्यसकै कारण बुवाको एक्कासी त्यस्तो घटना भयो,' दिनेशले भने। विदेशिनुपूर्व घरगाउँमै रहँदा पनि लक्ष्मण सीपयुक्त काममा मेहेनती र लगनशील थिए।

'एकदम सरल, कामकाजी हुनुहुन्थ्यो, गाउँमा सबैले चिन्थे, मान्थे,' वडाध्यक्ष टीकाबहादुर थापाले भने, 'डोका, नाम्ला बुन्ने सीप पनि थियो।' वडाध्यक्ष थापाले सम्पत्तिका नाममा घरबाहेक लक्ष्मणसँग केही नभएको बताए। परिवारको आर्थिक स्थिति कमजोर देखेपछि जापानमा रहेका गलकोटेहरुले उनको परिवारलाई सहयोग गरेका छन्। घुम्टे युवा परिवार जापान शाखाले चलाएको सहयोग अभियानबाट छ लाख १७ हजार ६२० रुपैयाँ संकलन भएको छ। सो रकम परिवारको लालनपालन र सुरक्षित भविष्यका लागि खर्च गरिने भएको छ। 

पीडामाथि पीडा

लक्ष्मणको निधनले दिएको चोट मत्थर हुन नपाउँदै सुनार परिवारमा थप अर्को पीडा थपिएको छ। सुनारको घर पहिराको जोखिममा परेको वडाध्यक्ष थापाले बताए।  'घरैछेउबाट पहिरो खसेको छ, भिरालो जमिन भएकाले जोखिम बढी छ,' उनले भने। वडाले पहिरो रोकथाममा सुनार परिवारलाई सहयोग गरिने जनाएको छ। छिमेकमा रहेका मनबहादुर विक र अङ्कित विकको घर पनि पहिराले जोखिममा पारेको वडाध्यक्ष थापाले जानकारी दिए।

प्रकाशित मिति: १७:१७ बजे, शुक्रबार, साउन ९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्