पूर्वएसपी बिष्टलाई साढे १० लाख धरौटीमा रिहा गर्न आदेश
महेन्द्रनगर, चैत १० : निर्मला पन्त बलात्कार र हत्या प्रकरणमा कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज बिष्टलाई साढे १० लाख धरौटीमा रिहा गर्न अदालतले आदेश दि....
महेन्द्रनगर, चैत १० : निर्मला पन्त बलात्कार र हत्या प्रकरणमा कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज बिष्टलाई साढे १० लाख धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ।
आईतबार कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश डा.राजेन्द्रकुमार आचार्यको इजलासले साढे दश लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । तत्कालीन एसपी बिष्टविरुद्ध प्रमाण नष्ट गरेको र यातना दिएको मुद्दा परेका थिए।
दुवै मुद्दामा साढे दश लाख धरौटीमा राख्न आदेश दिएको जिल्ला अदालतका श्रेष्तादार हरिकृष्ण अवस्थीले बताए।
साउन १० गते कपि लिन साथीको घर गएकी कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखमकी १३ वर्षीया निर्मला पन्तको अर्को दिन घर नजिकैको उखुबारीमा शव भेटिएको थियो । उनको बलात्कार पछि हत्या गरिएको स्वास्थ्य परीक्षणमा देखिएको थियो।
त्यस घटनामा अहिलेसम्म हत्यारा पत्ता लागेको छैन् । गृहमन्त्रालयले प्रमाण नष्ट गरेको अभियोगमा कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका तत्कालीन एसपी डिल्लीराज बिष्ट र महेन्द्रनगर वडा प्रहरी कार्यालयका तत्कालीन इन्स्पेक्टर जगदीश भट्टलाई बर्खास्त गरेको थियो।
एसपी बिष्टसहितको अनुसन्धान टोली प्रमाण नष्ट गरेको भन्दै निर्मलाकी आमा दुर्गाले उजुरी दिएकी थिइन् । त्यही उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालयले कञ्चनपुरले जिल्ला सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो।
पूर्वएसपी बिष्टले चैत ५ गते अदालतमा आत्मसर्मपण गरेका थिए । बीचमा विदा परेकाले चैत ८ गते मात्रै थुनछेकको बहस भएको थियो । शुक्रबार समय नपुगेकाले आज थुनछेकको बहसमा आदेश आएको हो।
उनी आजै रिहा हुनका लागि पैसा जुटाउनमा लागेका छन्।
त्यस्तै, यहि मुद्दामा डिएसपी ज्ञानबहादुर सेठी र इन्स्पेक्टर एकेन्द्र खड्काले नौरनौ लाख, अर्का इन्स्पेक्टर जगदिश भट्टले चार लाख, सई हरसिंह धामी तीन लाख ५० हजार, रामसिंह धामी तीन लाख र प्रहरी जवान चाँदनी साउदले दुई लाख ५० हजार धरौटी बुझाएर रिहा भएका थिए । मुद्दा लागेका डिएसपी अंगुर जिसी अदालतमा उपस्थित भएका छैनन्।






