ट्राफिक लाइटले सचिवको गाडी रोकिएपछि सिंहदरबारको मुल गेटको स्वरुप फेरियो
काठमाडौं, साउन ९ : शुक्रबार दिउँसो सिंहदरबारको मुल गेट सफा गरिएको छ। काठमाडौं महानगरपालिकाका सफाइ र तथा सुरक्षा सम्बद्ध कर्मचारीले सिंहदरबारको मूल गेट....

काठमाडौं, साउन ९ : शुक्रबार दिउँसो सिंहदरबारको मुल गेट सफा गरिएको छ। काठमाडौं महानगरपालिकाका सफाइ र तथा सुरक्षा सम्बद्ध कर्मचारीले सिंहदरबारको मूल गेट सफा गरेका हुन्।
बिहीबार काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्याल र सह–सचिव राजेश्वर ज्ञवाली भन्द्रकालीबाट सिंहदरबारको मुल गेट हुँदै पुल्चोकतर्फ जादैँ थिए। प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारको मुल गेट नजिकै रहेको ट्राफिक लाइटले उनीहरुको गाडी रोकियो।
सहसचिव ज्ञवालीले भने,‘प्रधानमन्त्रीदेखि, मन्त्री र उच्च पदस्थ व्यक्तिहरु दैनिक ओहोर–दोहोर गर्ने सिंहदरबारको मूल गेटमा झारले ढम्म ढाकेको र भूँईभरी लेउले ढाकेको देखियो। गेट सफाइमा सिंहदरवारको ध्यान नपुगजस्तो लागेर सचिवज्यूसँगको सल्लाहमा गेटको सफाई गरिएको हो।’
सचिव अर्यालको निर्देशन लगत्तै वातावरण व्यवस्थापन विभागका करीब ४० जनशक्तिले सिंहदरबारको मुल गेट अगाडीको भुइँको लेउ खुर्किने, झार उखेल्ने, सतह ढल र मंगाल सफाइ गर्ने काम गरे। सरसफाइपछि संकलित फोहोर ट्रान्सफर स्टेशन पठाइयो। त्यहाँ जेटको प्रयोग गरेर पखाल्ने काम भयो। त्यसपछि सिंहदरबारको मुलढोका एकैछिनमा सुन्दर देखियो।
सामान्य कुरामा पनि कहिलेकाँही ध्यान नजाँदा सहरको सौदर्य बिग्रिने गरेको ज्ञवालीको भनाई छ। ‘देशकै मुख्य प्रशासनिक केन्द्र प्रवेश गर्ने मुल ढोकामा पलाएको झार र भुइँमा देखिएको लेउ सफा गर्दा त्यहाँको स्वरुप नै फेरियो,’ उनले भने, ‘काठमाडौं महानगरपालिकाले केही समय अघि सिंहदरबार नजिकै माइतीघर मण्डलामा ‘रात्रिकालिन सहरी सौदर्य कार्यक्रम’ को नमूना परीक्षणका लागि ‘एलइडी कलर पाइप लाइट’ जडान गरेको थियो। त्यसपछि त्यहाँको सध्याकालिन दृष्य अहिले मनोमोहक देखिएको छ।’
ज्ञवालीले सहरको सौदर्य बढाउने हो भने यस्ता सामान्य कुरामा पनि ध्यान दिनुपर्ने बताए। ‘यो उदाहरण मात्रै हो,’ उनले भने, ‘काठमाडौंलाई विश्वस्तरीय ठूला सहरजस्तै आकर्षक देखाउनका लागि आगामी दिनमा बढी चहलपहल हुने, सार्वजनिक स्थल, धार्मिक तथा पर्यटकीय स्थल र सम्पदासूचिमा सूचिकृत स्थानहरुमा पनि सरसफाई अभियानलाई निरन्तरता दिनुपर्छ। हामी निरन्तरता दिन तयार छौं।’











