सार्वजनिक सवारी साधन चले, तर यात्रु भएनन्
काठमाडौं, साउन ९ : यातायात व्यवसायी र मजदूर सङ्गठनले निर्णय गरेर सार्वजनिक सवारी साधन सञ्चालन गरेपनि काठमाडौं उपत्यकामा न्यून संख्यामा मात्रै सवारी सा....

काठमाडौं, साउन ९ : यातायात व्यवसायी र मजदूर सङ्गठनले निर्णय गरेर सार्वजनिक सवारी साधन सञ्चालन गरेपनि काठमाडौं उपत्यकामा न्यून संख्यामा मात्रै सवारी साधन सञ्चालन भएका छन्। यस्ता सवारी साधनमा यात्रु भने कमै मात्रामा चढ्ने गरेका छन्।
केही व्यवसायीले गत सातादेखि नै सवारी साधन सञ्चालन गरिरहेकामा बुधबारदेखि लकडाउन अन्त्य गर्ने सरकारको निर्णयसँगै सडकमा चाप केही बढेको थियो। त्यसमा व्यवसायी र मजदुर सङ्गठनले बिहीबारदेखि सवारी साधन सञ्चालन गर्न थाले पनि त्यो चाप थोरै बढेको छ। आमनागरिकले सोचेजस्तै ह्वात्तै सडक व्यस्त भने भइसकेको छैन। बिहीबार उपत्यकाका विभिन्न स्थानमा पुग्दा सवारी साधन सडकमा सवारी साधनको संख्या पनि कम देखिन्थ्यो।
त्यसो त सामान्य अवस्थामा खचाखच देखिने सुन्धारा, शहीदगेट, बबरमहल, नयाँबानेश्वर, कोटेश्वरलगायतका प्रतीक्षालयमा कार्यालय समयमा पनि यात्रु थोरै मात्रै देखिन्छन्। सडकमा गुडिरहेका बस, माइक्रो, ट्याम्पोलगायतका सवारी साधनमध्ये अधिकांशमा आधाभन्दा कम मात्रै यात्रु रहेका छन्।
अधिकांश सवारी साधनमा चालक, सहचालक र यात्रुले माक्स र स्यानेटाइजरको प्रयोग गरेको देखियो भने कतिपय चालक भाइजर नलगाएको देखिन्थ्यो।
सडकको चाप थोरै मात्रै बढेको पाइएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। कोभिड–१९ रोकथामका लागि स्वास्थ्य सुरक्षा नपनाउने चालक सहचालकलाई ‘होल्ड’मा लिइएको महाशाखाका प्रवक्ता दानदेव गौतमले बताए। उपत्यकाभर दुई दिनमा ३१ सवारी साधनलाई ‘होल्ड’ गरिएको हो।
बिहीबार मात्रै स्वास्थ्य सावधानी नअपनाएकोमा १६ बस, १४ ट्याक्सी र एउटा ट्याम्पोलाई होल्ड गरिएको थियो। सरकारले कोभिड–१९ को जोखिम मध्यनजर गर्दै सिट क्षमताभन्दा आधा मात्रै यात्रु राख्ने निर्णय गरे पनि यी सवारी साधनले त्योभन्दा बढी राखेको पाइएको प्रवक्ता गौतमले बताए। कतिपय सवारी साधनमा चालक र सहचालकले माक्स, पञ्जा, भाजरलगायतका सुरक्षा सामग्रीको प्रयोग नगरेको पाइएकाले होल्ड गरिएको हो।
उपत्यकामा चक्रपथ र चक्रपथभित्रका सडकमा अधिकांश सवारी साधनमा यात्रु कम देखिए पनि उपत्यका नजिकका बस्ती (काँठ क्षेत्र)सम्म जाने बसमा यात्रु बढी राखेको देखिन्थ्यो। बस, माइक्रोलगायतका सवारी साधन ज्यादै कम सङ्ख्यामा चलेकाले चढ्न बाध्य भएको यात्रुको भनाइ छ। ट्राफिक प्रहरीले अनुगमन गरिरहेको र क्षताको आधाभन्दा बढी यात्रु राखेको पाइएमा कारवाही गरिएको उनले बताए।
अहिलेका लागि मर्मत भएका सवारी साधन सञ्चालन भए पनि आगामी दिनमा थप सवारी साधन सडकमा आउने महासङ्घले जनाएको छ। सरकारले साउन भर एउटा जिल्लाभित्र वा एउटा जिल्लाबाट अर्को जिल्लामा सवारी साधन चलाउन पाउने निर्णय गरेको छ। महासङ्घले सबै रुट खुल्ला गर्नुपर्ने यातायात व्यवस्था विभागमा भनिरहेका नेपाल यातायात व्यवसाय राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले बताए। (रासस)




-1792226847.jpeg)





-1792226847.jpeg)
