नारायणगढ-मुग्लिन र पालुङ-नौबिसे सडकमा फेरि पहिरो
काठमाडौं, साउन ९ : राजधानी काठमाडौं जोड्ने सडककाे विभिन्न स्थानमा फेरि पहिरो गएको छ। पहिरोले सडक अवरुद्ध भएपछि सयौं सवारी साधन र यात्रु अलपत्र परेका छ....

काठमाडौं, साउन ९ : राजधानी काठमाडौं जोड्ने सडककाे विभिन्न स्थानमा फेरि पहिरो गएको छ। पहिरोले सडक अवरुद्ध भएपछि सयौं सवारी साधन र यात्रु अलपत्र परेका छन्।
नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६ चारकिलोमा आज बिहान फेरि पहिरो खसेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गएराति खसेको पहिरो पन्छाएर एकतर्फी सवारी सञ्चालन भएको केही समयमा नै फेरि त्यहि स्थानमा पहिरो खसेको हो।
निरन्तरको वर्षाका कारण पहिरो खस्ने क्रम जारी रहेको जिल्ल प्रहरी कार्यालयका डीएसपी सूर्यबहादुर थापाले बताए।
पहिरो ठूलो भएकाले के कतिखेर पन्छाएर सकिन्छ भन्न नसकिने उनको भनाइ छ। त्यहि स्थानमा गत सोमबार पनि पहिरो खसेको थियो।
त्यो पहिरो ३६ घन्टा लगाएर पन्छाइएको थियो। पहिरोका कारण सडक अवरुद्ध भएको छ।
त्यस्तै, त्रिभुवन राजपथअन्तर्गत पालुङ–नौबिसे सडकखण्ड पनि अवरुद्ध भएको छ। यो सडकखण्डको सातघुम्तीमा पहिरो खस्दा बिहानैदेखि त्रिभुवन राजपथ अवरुद्ध भएको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक रुकबहादुर खड्काले बताए।
सडक अवरुद्ध भएपछि सयौँ सवारी साधन बाटोमै रोकिएका छन्। पृथ्वी राजमार्गको नौबिसे–मुग्लिनखण्ड र काठमाडौँ–हेटौँडा जोड्ने छोटो दूरीको भीमफेदी–फाखेलखण्डको सडक अवरुद्ध भएपछि सवारी साधन त्रिभुवन राजपथ भएर सञ्चालनमा रहेका थिए।
अहिले सातघुम्तीको पहिरो हटाउने काम भइरहेको प्रहरीले जनाएको छ। आज दिउँसोसम्म सडक पुनः सञ्चालन हुनसक्ने प्रहरीको अनुमान छ।
यसैगरि पृथ्वी राजमार्गअन्तर्गत दमौली(डुम्रे सडकखण्ड पुनः अवरुद्ध भएको छ। राजमार्गको सडक भाँसिएपछि बनाइएको वैकल्पिक मार्गमा सवारी साधन फसेर पृथ्वी राजमार्ग पुनः अवरुद्ध भएको हो।
अविरल वर्षापछि बन्दीपुर गाउँपालिका–१ स्थित नालामा सडक नै भाँसिएर पहिरो गएपछि यसअघि पनि राजमार्ग अवरुद्ध भएको थियो। यही साउन ४ र ५ गते पनि राजमार्ग अवरुद्ध भएपछि लामो समय लगाएर सञ्चालनमा ल्याइएको थियो।
पहिरोले राजमार्गको सडक नै बगाएपछि वैकल्पिक मार्ग बनाइएको थियो। वैकल्पिक मार्गमा ग्राबेल नगरेका कारण हिलो हुँदा सवारी साधन फसेपछि राजमार्ग अवरुद्ध भएको बन्दीपुर–१ का वडाध्यक्ष भानुभक्त पोख्रेलले बताए।
उनका अनुसार सवारी सञ्चालनमा ल्याउन कम्तीमा ६ घन्टा लाग्नेछ।




-1792226847.jpeg)





-1792226847.jpeg)
