Kathmandu Press

चार महिनापछि सार्वजनिक यातायात सञ्चालन

काठमाडौं, साउन ८ : चार महिनापछि बिहीबारदेखि देशभर सार्वजनिक सवारीसाधन सञ्चालनमा आएका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले आज करिव आधा सवारी....

चार महिनापछि सार्वजनिक यातायात सञ्चालन

काठमाडौं, साउन ८ : चार महिनापछि बिहीबारदेखि देशभर सार्वजनिक सवारीसाधन सञ्चालनमा आएका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले आज करिव आधा सवारीसाधन सञ्चालन भएको जनाएको छ।

पहिलो दिन बिहीबार बिहानैदेखि बस, मिनिबस, माइक्रो, टेम्पोलगायतका सवारीसाधन सञ्चालनमा आएका छन्। तर, सार्वजनिक सवारी साधनमा यात्रुको संख्या न्यून रहेकाे छ।

अहिलेका लागि मर्मत भएका सवारीसाधन सञ्चालन भए पनि आगामी दिनमा थप सवारी साधन सडकमा आउने महासङ्घले जनाएको छ। सरकारले सार्वजनिक सवारी साधन सञ्चालन गर्ने निर्णय गरेको झण्डै दुई सातापछि मात्रै मजदूर र महासङ्घले सवारी साधन सञ्चालनको निर्णय गरेका थिए।

अझै कतिपय गाडी ग्यारेजमा नै थन्किएर रहेको महासङ्घका महासचिव सरोज सिटौलाले बताए। उनका अनुसार मर्मतपछि बाँकी सवारी साधन पनि सञ्चालनमा आउनेछन्।

चालक र सहचालकलाई आवश्यक स्वास्थ्य सावधानीका सामग्री व्यवसायीले उपलब्ध गराएका छन् भने यात्रुलाई पनि माक्स अनिवार्यरुपमा लगाउनु अनुरोध गरिएको छ। 'सबै निकायले तोकिएको दायित्व पूरा गरेपछि सुरक्षित हुन सकिन्छ,' उनले भने।

सरकारले एउटा जिल्लाभित्र वा एउटा जिल्लाबाट अर्को जिल्लामा सवारसाधन चलाउन पाउने निर्णय गरेको छ। यातायात व्यवसायीले भने सबै रुट खुल्ला गर्नुपर्ने माग गरेको छ। 'कोह व्यक्ति नौबिसे आएर काठमाडौँ आउन नपाउने गर्नु हुँदैन,' महासचिव सिटौलाले भने।

यसअघि सरकार र व्यवसायीबीच यातायात श्रमिकको समूह कोरोना बिमाका लागि नेपाल सरकारले ५० प्रतिशत र सम्बन्धित व्यवसायीले ५० प्रतिशत बिमाङ्क रकम उपलब्ध गराउने सहमति भएको थियो।

त्यस्तै, यातायात श्रमिकको कोरोनाको कारण मृत्यु भएमा आश्रित परिवारलाई राहत उपलब्ध गराउनका लागि सरकारको तर्फबाट कोष स्थापना गराउने सहमति भएको थियो।

श्रमिकको आवश्यक माक्स, पञ्जा, स्यानिटाजर र पिपिई व्यवसायीले नै उपलब्ध गराउने सहमति भएको छ। सहमतिसँगै आजदेखि देशभर सार्वजनिक सवारी साधन सञ्चालनमा आएका हुन्।

प्रकाशित मिति: १०:५० बजे, बिहीबार, साउन ८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्