पहिरोले मृत्यु भएका परिवारलाई सहयोग
काठमाडौं, साउन ७ : टोखा नगरपालिकाले गत मङ्गलबार पहिरोले पुरिएर मृत्यु भएका तीन वर्षीय जुम्ल्याहा सचिन र सन्ध्या रानाको परिवारलाई रु ५० हजार सहयो....
काठमाडौं, साउन ७ : टोखा नगरपालिकाले गत मङ्गलबार पहिरोले पुरिएर मृत्यु भएका तीन वर्षीय जुम्ल्याहा सचिन र सन्ध्या रानाको परिवारलाई रु ५० हजार सहयोग गर्ने भएको छ ।
नगरपालिकाको बुधबार बसेको विपद् व्यवस्थापन समितिको बैठकले टोखा–१ टाँसी डाँडामा पहिरोका कारण मृत्यु भएका परिवारलाई सो रकम उपलब्ध गराउने निर्णय गरेको नगरप्रमुख प्रकाश अधिकारीले जानकारी दिए । नगरपालिकाभित्र हुनसक्ने विपद्जन्य घटनाको रोकथाम, नियन्त्रण र समाधानका लागि वडा विपद् व्यवस्थापन समिति निर्माण समेत गर्ने निर्णय गरेको उनले बताए ।
“वडा विपद् व्यवस्थापन समितिले विपद्को समयमा तत्काल उद्धार तथा सम्बन्धित निकायलाई खबर गर्नेछ”, उनले भने । नगरपालिकाले वडामा आवश्यक पर्ने विपद् व्यवस्थापन सामग्रीका लागि आवश्यक बजेटसमेत विनियोजन गरिसकेको छ ।
नगरपालिकाभित्र रहेका वडा विपद् व्यवस्थापन समितिले वडाभित्र विपद्का कारण भएको क्षति सङ्कलन गरी तत्काल अस्थायी तटबन्ध निर्माणका लागि वडा कार्यालयले रु ५० हजारसम्म रकम दिन पाउने व्यवस्थासमेत गरेको छ । सो रकमभन्दा बढी क्षति भएमा वडाले नगरपालिकाको विपद् व्यवस्थापन समितिसँग सहकार्य गरेर विनियोजन गनुपर्नेछ ।