सुर्खेतमा मास्क प्रयोग नगर्नेबाट एक लाख राजश्व संकलन
सुर्खेत, साउन ७ : जिल्ला प्रशासन कार्यालय सुर्खेतले मास्क नलगाई हिँड्ने व्यक्तिलाई कारवाही गर्दा करीब एक लाख रुपैयाँ राजश्व संकलन गरेको छ। कार्यालयले ....
सुर्खेत, साउन ७ : जिल्ला प्रशासन कार्यालय सुर्खेतले मास्क नलगाई हिँड्ने व्यक्तिलाई कारवाही गर्दा करीब एक लाख रुपैयाँ राजश्व संकलन गरेको छ। कार्यालयले दुई साताका अवधिमा एक हजार ५९ जनालाई कारवाही गर्दा प्रतिव्यक्ति १०० का दरले एक लाख पाँच हजार ९ सय रुपैयाँ राजश्व संकलन गरेको हो।
कोभिड १९– को संक्रमण फैलिनबाट रोक्न गृह मन्त्रालयले असार २२ गते सबै जिप्रकालाई मास्क नलगाई बाहिर निस्कनेलाई एक सय रुपैयाँ जरिवाना गर्न निर्देशन दिएको थियो। सरकारको निर्देशनानुसार प्रहरीले मास्क प्रयोग नगरी घर बाहिर निस्कनेबाट नगदी रसिद बुझाउँदै जरिवाना असूल गरेको हो। सुर्खेतका सहायक प्रजिअ भीमकान्त पौडेलले अटेरी गरी बाहिर निस्कनेलाई संक्रमक रोग ऐन, २०२० बमोजिम कारवाहीस्वरुप जरिवाना तिराइएको बताए।
यसैबीच जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले समेत लकडाउन उल्लंघन गर्ने ५८३ सवारी साधन नियन्त्रणमा लिई सवारीधनीलाई कारवाही गरेको छ। त्यसबाट पाँच लाख ८९ हजार ५ सय रुपैयाँ राजश्व संकलन गरिएको कार्यालयले जनाएको छ।