जसिन्डा आर्डेनः विश्वलाई नतमस्तक बनाउने न्युजिल्यान्डकी नेता
अघिल्लो शुक्रबार न्युजिल्यान्डको क्राइस्टचर्चस्थित दुई मस्जिदमा प्रार्थना गरिरहेका मानिसमाथि अन्धाधुन्ध गोली बर्साई एक हतियारधारीले ५० जनाको ज्यान लिए।
अघिल्लो शुक्रबार न्युजिल्यान्डको क्राइस्टचर्चस्थित दुई मस्जिदमा प्रार्थना गरिरहेका मानिसमाथि अन्धाधुन्ध गोली बर्साई एक हतियारधारीले ५० जनाको ज्यान लिए।
त्यो त्रासद क्षणमा न्युजिल्यान्डका प्रधानमन्त्री जसिन्डा आर्डेनले एक पत्रकार सम्मेलन गरिन्, जसले गहिरो शोकमा डुबेको देशको घाउमा अलिकति भए पनि मल्हम लायो।
यो न्युजिल्यान्डको आधुनिक इतिहासकै सर्वाधिक क्रुर हिंसा थियो । र, यो ३८ वर्षीया आर्डेनको जीवनको सबैभन्दा कठोर परीक्षा पनि थियो।
पत्रकार सम्मेलनमा बोल्न सुरु गर्दा आर्डेनले स्वर थर्रर कामेको थियो । तर, उनको एकता र सहानुभूतिको सन्देश भने अदम्य र अविचलित थियो।
उनले आक्रोश मिश्रित स्वरमा भनिन्, ‘तिमी (हत्यारा)ले हामीलाई छानेका होलाऊ, तर हामी तिमीलाई बहिष्कार गर्छौँ।’
भोलिपल्ट आर्डेन कालो हिजाब लगाएर क्राइस्टचर्च पुगिन् । शोकमग्न मुस्लिम परिवारहरूसँग भेटिन्। भावविह्वल महिलाहरूलाई अँगालो हालेर समवेदना प्रकट गरिन् । प्रियजनको मृत्युले विक्षिप्त महिलाका गालामा गाला टाँसेर उनले दुःख बाँडेको भिडियो विश्वभर फैलियो।
न्युजिल्यान्ड निवासी अमेरिकी सुरक्षा विशेषज्ञ पल ब्युकाननको भनाइमा प्रधामन्त्री आर्डेनले राष्ट्रिय शोक र संकटको घडीमा देखाएकी करुणाले न्युजिल्यान्डवासीको मनको घाउ भर्न मद्दत गरेको छ । उनी भन्छन्, ‘प्रधानमन्त्री आर्डेनले देशकै आमाको रुपमा आफूलाई प्रस्तुत गरेकी छिन् ।’
ब्युकाननले भन्छन्, ‘अमेरिकामा आतंककारी आक्रमण हुँदा ट्रम्पले बदला लिने धम्की दिन्छन् । बदला लिने धम्की दिनु भनेको कायरता हो । आर्डेनले जस्तो करुणा देखाएकी छिन्, त्यो चाहिँ बहादुरी हो ।’
करुणा र कठोरता
न्युजिल्यान्डकी प्रधानमन्त्री आर्डेनले मस्जिद आक्रमणमा ज्यान गुमाउनेका परिवारजनप्रति जति गहिरो करुणा देखाएकी छिन्, त्यो आतंकका रचयिताको उति नै कठोर निन्दा पनि गरेकी छिन्।
त्यो मस्जिद आक्रमणका निम्ति मुस्लिम समुदायलाई जिम्मेदार ठहर्याउने एक अष्ट्रेलियाली सिनेटरलाई त आर्डेनले ‘कलंक’ नै भनिन्।
मंगलबार सदनलाई सम्बोधन गर्दै आर्डेनले अरबी भाषामा समवेदना प्रकट गरिन् – ‘अस्सलाम अलैकुम । तपाईंहरूलाई शान्ति मिलोस्।’
प्रधानमन्त्री आर्डेनले क्राइस्टचर्चको मस्जिदमा आक्रमण गर्ने हतियारधारीको नाउँ लिइनन् । उनलाई उनकै नाउँले सम्बोधन गरेर कुनै चर्चा र हैसियत दिन आफू तयार नरहेको आर्डेनको भनाइ थियो।
उनले भनिन्, ‘मैले उसको नाम लिएको तपाईंले सुन्नुहुने छैन।’
क्राइस्टचर्चको मस्जिद आक्रमणपछि प्रधानमन्त्री आर्डेनले पीडितका परिवारप्रति देखाएकी करुणा र अपराधीविरुद्ध देखाएकी कठोरताले उनका राजनीतिक आलोचकहरूको पनि मुख थुनेको छ ।
पहिले प्रधानमन्त्री पदमा रहँदै आमा बनेकी दोश्रो महिला नेतृ भनेर विश्वभरि चिनिएकी आर्डेनले क्राइस्टचर्च आक्रमणपछि भने नयाँ पहिचान बनाएकी छिन् – करुणा र कठोरता दुबैको प्रतिमूर्ति ।
त्याे घटना लगत्तै उनले बन्दुक नियन्त्रणा गर्ने कानूनहरुमा पनि व्यापक सुधार गरेर विश्वकाे मन जितेकी छिन् ।
डिजे प्रधानमन्त्री
न्युजिल्यान्डको इतिहासमै सबैभन्दा कठिन समयमा देशको नेतृत्व सम्हालिरहेकी प्रधानमन्त्री जसिन्डा आर्डेनका पुराना तस्वीरहरू हेर्दा लाग्छ – मुलुकको सर्वोच्च कार्यकारी पदमा पुग्नुअघि उनी भिन्दै यात्रामा हिँड्दै थिइन्।
एउटा तस्वीरमा आर्डेन डिजे बनेर ‘किवी’को भीडलाई नचाइरहेकी छिन् । भीड आर्डेनको संगीतमा लठ्ठ देखिन्छ।
सुन्दा अपत्यारिलो लाग्छ । कहाँ प्रधानमन्त्री, कहाँ डिजे ! तर अप्रिल २०१३ तिर फर्किए, आर्डेनको सांगीतिक प्रेमका प्रमाण प्रशस्तै भेटिन्छ।
अर्को ट्विटमा आर्डेनले रातो ‘सिंग्लेट’ लगाएर कुनै धुन ‘स्पिन’ गरेको देखिन्छ । ‘रियल ग्रुभीमा सहभागी हुने केही समय बाँकी छ । तर मलाई डिजे बनेको तपाईंले देख्न पाउनुहुने छैन,’ उनले लेखेकी छिन्।
आफ्नो प्रस्तुति कस्तो रह्यो भनेर आर्डेनले नखुलाए पनि बिटल्सको संगीतलाई न्युजिल्यान्डको पंक रक ब्यान्ड ट्वोय लभका सिर्जनासँग गरेको ‘ब्लेन्ड’ उत्कृष्ट बताउँदै एक जनाले प्रतिक्रिया दिएका छन् । त्यही कार्यक्रममा आर्डेन एक वर्षपछि फर्किइन् । दोश्रो पटक उनी निकै सहज देखिन्थिन्, सायद डिजेका रूपमा अभ्यस्त भएर होला।
सो कार्यक्रममा उनले जीवनकै पहिलो ‘रिक्वेस्ट’ पाएको खुलाइन् । यो उपलब्धिबाट उनी खुसी भएको भान हुन्छ।
स्थानीय वेबसाइट स्पिन अफले व्यावासायिक डिजे नबने पनि एक जना साथीको विवाहमा प्रस्तुति दिने आत्मविश्वास पलाएको समाचार प्रकाशन गरेको थियो । आर्डेनले अक्ल्यान्ड विश्वविद्यालयमा पनि प्रस्तुति दिएको वेबसाइटले उल्लेख गरेको थियो । प्रस्तुतिको क्रममा उनी भीडसँग नाच्न स्टेजबाट आएको पनि बताइएको छ।
अझै विश्वास लागेन भने ‘स्पटिफाइ’ लग–इन गर्नुहोस् । सन् २०१४ को लेनवे फेस्टिभलमा उनले बजाएका निकै ‘क्याची ट्रयाक’ सुन्न सक्नुहुनेछ । त्यसमा स्पाइस गर्ल्सकाे वान्नाबे, बिटल्सको कम टुगेदर र टिएलसिको नो स्क्रब्सजस्ता क्लासिक समावेश छन्।
फेस्टिभलका पूर्व प्रोमोटर बेन हावीले आर्डेन सधैं फ्यानको रूपमा फेस्टिभल आउने गरेको बताए । आएर डिजे गर्न सुझाव दिएपछि, आर्डेनले त्यो अवसर नगुमाएको उनले बताए।
स्टेजमा एकाध प्रस्तुतिपछि आर्डेनले राजनीतिक वृत्तमा ठूलो सफलता हासिल गरेकी छिन् । लेबर पार्टीप्रति देशको दृष्टिकोण बदल्ने जस उनलाई दिइन्छ । सन् २०१७ को निर्वाचनमा उनको पार्टी विजयी भयो र ३७ वर्ष उमेरमा उनी विश्वकै कान्छी महिला नेतृ बन्न पुगिन्।
जनवरी २०१८ मा चार वर्षदेखि क्लार्क गेफोर्डसँगै बस्दै आएकी आर्डेनले गर्भवती भएको घोषणा गरिन् । छोरी निभ जन्मिएपछि उनले ६ साताको सुत्केरी विदा लिइन् । यो निर्णयबाट पनि उनले थुप्रै प्रशंसा बटुलिन्।
त्यसपछि उनी कार्यालय आइन् । क्लार्क घरमै बसेर छोरीको स्याहारमा लागे ।
दि गार्डियन र अन्य एजेन्सीमा आधारित