सरकारले गरेका भ्रष्टाचारका पोल खुल्दै जान्छन्ः सिंह
काठमाडौं, ८ चैत: नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले गरेका भ्रष्टाचारको पोल खुल्दै जाने बताएका छन्।<....
काठमाडौं, ८ चैत: नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले गरेका भ्रष्टाचारको पोल खुल्दै जाने बताएका छन्।
काठमाडौंको चाबहिलमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सिंहले भने, ‘केपी ओलीजी के भन्नुहुन्छ भने म पनि भ्रष्टाचार गर्दिनँ, अरुलाई पनि गर्न दिन्नँ। तर, मेलम्चीको ठेकेदार काम छाडेर हिँड्नुको पोल विस्तारै खुल्दैछ। किनभने मन्त्री र सचिवले कमिसन माग्दा रहेछन्।’
उनले विकास निर्माणको काममा सरकारले बाधा पुर्याएको आरोप पनि लगाए। सिंहले सरकारको गलत रवैयाका कारण प्रदेश र स्थानीय सरकारले पनि विकासका काम गर्न नसकेको बताए। ‘दुई तिहाई बहुमत प्राप्त सकारले के गरेको छ? निर्वाचन अगाडिको अवस्था भन्दा झन् गएगुज्रेको अवस्थामा पुगेको छ,’ उनले भने,‘आर्थिक, सामाजिक, हरेक दृष्टिमा यो सरकार असफल भइसकेको छ।’
प्रधानमन्त्री ओलीले संसदलाई सम्बोधन गर्दा काठमाडौंलाई धुलो र हिलोमुक्त बनाउने घोषणा गरेको तर, काम नगरेको भन्दै सिंहले आक्रोश पोखे। ‘काठमाडौंमा मास्कसाक्स केही लगाउनु पर्दैन, मैले दुई महिनामै ठीक गर्छु भनेको खोइ के भयो,’उनले भने,‘वर्षा हुँदा हिलैहिलो, घाम लाग्दा धुलैधुलो। हामी काठमाडौंबाट प्रतिनिधित्व गर्नेहरुलाई मुस्किल हुन्छ मतदाताहरुको चित्त बुझाउन।’
फरक प्रसंगमा उनले अब कांग्रेसको आन्तरिक एकता बलियो बनाउनु पर्नेमा जोड दिए। विगतका गल्ती कमजोरीहरु सुधार्दै अगाडि बढ्नुको विकल्प नरहेको उनको भनाइ छ।






