बढि शुल्क लिने कलेजका संचालकलाई फौजदारी मुद्दा चलाउः डा.गोविन्द केसी
काठमाडौं, चैत ७ : मेडिकल शिक्षाका अभियान्ता डा.गोविन्द केसीले एमबीबीएस अध्ययनरत विद्यार्थीबाट बढी शुल्क लिने मेडिकल कलेजका सञ्चालकलाई फौजदारी मुद्दा च....
काठमाडौं, चैत ७ : मेडिकल शिक्षाका अभियान्ता डा.गोविन्द केसीले एमबीबीएस अध्ययनरत विद्यार्थीबाट बढी शुल्क लिने मेडिकल कलेजका सञ्चालकलाई फौजदारी मुद्दा चलाउन माग गरेका छन्।
बिहीबार एक विज्ञप्ति जारी गर्दै कलेजहरुले विद्यार्थीलाई ब्ल्याकमेलिङ गरेर ठगी गरिरहेको भन्दै सञ्चालकलाई फौजदारी मुद्दा चलाउन डा.केसीले माग गरेका हुन् ।
केसीले मेडिकल कलेजले विद्यार्थीसँग लिएको अतिरिक्त शुल्क तत्काल ब्याजसहित फिर्ता गर्न पनि माग गरेका छन् । उनले अवरुद्ध भएका मेडिकल कलेजको पठनपाठन तत्काल सञ्चालन गर्न पनि माग गरेका छन् ।
‘मेडिकल कलेजहरुले दिनदहाडै ठगी गरेर कानुनी राज्यको उपहास गर्दा पनि कानुनी राज्यको रक्षा गर्ने जिम्मा लिएकाहरु त्यही ठगीको रकममा भागवण्डा गरेर रमाइरहेका छन्’ डा.केसीले विज्ञप्तिमा भनेका छन्, ‘यो ब्रम्हलुट बन्द गर्नका लागि पहिले न्यायिक जाँचबुझ आयोगले दोषी ठहर गरेर बर्खास्तीको सिफारिश गरेका त्रिवि पदाधिकारीलाई तत्काल बर्खास्त गरी कारवाही गर्न सरकारको ध्यानाकर्षण गराउँछु ।’
डा.केसीले विश्वविद्यालयका पदाधिकारीलाई बर्खास्त गरी त्रिवि र केयूमा योग्य र इमान्दार व्यक्ति नियुक्त गर्न पनि माग गरेका छन् । ‘मेडिकल माफिया’हरुले चलाइरहेको अर्बौंको ठगी धन्दा तत्काल रोकी ठग र अपराधीहरुलाई तत्काल कारवाही तथा त्यस्तो अपराधबाट लाभ लिएर अपराधीहरुको संरक्षण गर्ने पदाधिकारीहरुलाई बर्खास्तीसमेतका कारवाही नगरिएमा कुनै पनि बेला सत्याग्रहसहित आन्दोलनका कार्यक्रम शुरु गर्ने जानकारी गराउँछौं’ डा.केसीले भनेका छन् ।






