Kathmandu Press

प्रधानमन्त्रीले सेयर आवेदन दिएको माथिल्लो त्रिसुली–३‘बी’मा सुरक्षित होला त जनताको लगानी ?

काठमाडौ, चैत ७ : सरकारले फागुन २ गते घोषणा गरेको ‘जनताको जलविद्युत कार्यक्रम’अन्तर्गत पहिलो कम्पनीको रुपमा माथिल्लो त्रिशुली–३&lsquo....

प्रधानमन्त्रीले सेयर आवेदन दिएको माथिल्लो त्रिसुली–३‘बी’मा सुरक्षित होला त जनताको लगानी ?

काठमाडौ, चैत ७ : सरकारले फागुन २ गते घोषणा गरेको ‘जनताको जलविद्युत कार्यक्रम’अन्तर्गत पहिलो कम्पनीको रुपमा माथिल्लो त्रिशुली–३‘बी’को साधारण सेयर जारी भएको छ।

त्यतिबेला पहिलो सेयर खरिद गर्ने घोषणा गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार बिहान १० हजार कित्ताको लागि आवेदन पनि दिएका छन् । त्यस्तै, उर्जामन्त्री वर्षमान पुनले एक हजार कित्ताको लागि बिहीबारनै आवेदन दिए।

बिहीबारदेखि खुलेको माथिल्लो त्रिशुली–३‘बी’ जलविद्युत् आयोजनाको सेयरमा आवेदन दिनका लागि प्रधानमन्त्रीले  दुई डिम्याट खाता संचालनमा ल्याएका थिए।

३७ मेगावाट क्षमताको आयोजनाले ‘जनताको जलविद्युत् कार्यक्रम’अन्तर्गत पहिलो चरणमा सर्वसाधारणका लागि सेयर खुल्ला गरेको हो । ४९ प्रतिशत जनताको सेयर सुनिश्चित गर्न तथा शुरुआतमा १० प्रतिशत सेयर दिने गरी एक खर्ब रुपैयाँ बराबरको विभिन्न १९ आयोजनाको सेयर जनतालाई दिने सार्वजनिक गरिएको थियो।

त्यही आधारमा कम्पनीको जारी पूँजी दुई अर्ब ४७ करोड रुपैयाँको १५ प्रतिशत अर्थात ३७ करोड पाँच लाख बराबरको एक सय रुपैयाँ दरको ३७ लाख पाँच हजार साधारण सेयरमध्ये तीन प्रतिशत कम्पनीका कर्मचारीका लागि छुट्याएर बाँकी ३५ लाख ९३ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरिएको हो । बिहीबार खुलेको सेयर छिटोमा चैत १२ र ढिलोमा वैशाख ६ गतेसम्म आवेदन दिन पाउने व्यवस्था छ ।

लगानी कर्ताको लगानी सुरक्षित होला ?

३७ मेगावटको त्रिशुली–३‘बी’ आयोजना गत वर्षको फागुनदेखि निर्माण शुरु गरिएको थियो । आयोजना आगामी २०७८ फागुनभित्र सम्पन्न गर्ने लक्ष्य छ । यसमा आठ अर्ब २२ करोड ७४ लाख ४१ हजार रुपैयाँ (निर्माण अवधिको ब्याजसमेत) लाग्ने प्रक्षेपण गरिएको छ।

सेयर निष्काशन गरेको मितिबाट साधारण लगानी फिर्ता हुन ७.९५ वर्ष र डिस्काउन्टेड लगानी फिर्ता हुन ११.८२ वर्ष लाग्ने कम्पनीले यसअघिनै जनाएको थियो । यही सन्दर्भमा क्रेडिट रेटिङबिना नै सेयर निष्काशन समेत भएको छ।

सरकारले लगानी आह्वान गरेपनि तत्काल ‘रिर्टन’ लिने सम्भावना भने कम भएको नेपाल पुँजी बजार लगानी कर्ता संघकी अध्यक्ष राधा पोखरेलले बताइन् । ‘लगानी कर्ताले कम्पनीको विश्लेषणनै नगरी लगानी गर्नुपर्ने अवस्था भएकाले लगानी फिर्ता कहिले आउछ भन्नेमा अन्योल रहेको छ,’ अध्यक्ष पोखरेलले भनिन् । नेपाल धितो पत्र बोर्डले विशेष व्यवस्था गरेर सेयर निष्काशनको व्यवस्था गरेको छ। 

२०७२ मा विद्युत् उत्पादन अनुमतिपत्र प्राप्त गरेको उक्त आयोजनाले २०७४ मा विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) र २०७५ मा ऋण सम्झौता (सिएफए) गरेको थियो।

आयोजनाले हालसम्म साइट आवास, कार्यालय भवन, जग्गा अधिग्रहण, टेस्ट अडिट टनेल, पहुँच मार्गसम्मको अधिन, वन क्षेत्रको प्रयोग र रुख कटानलगायतका कार्य सम्पन्न गरिसकेको छ । उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनसम्म पु¥याउन उत्पादन गृहदेखि हबसम्म जडानका लागि लैजान आवश्यक पर्ने तीन किमी दूरीको १३२ केभी प्रसारण लाइन निर्माण कार्य जारी छ।

समग्रमा आयोजनाको भौतिक प्रगति २९ प्रतिशत र वित्तीय प्रगति १२ प्रतिशत छ । आयोजना निर्माणको जिम्मेवारी चिनियाँ कम्पनी सिचुवान एन्हे हाइड्रोलिक तथा हाइड्रोइलेक्ट्रिक इञ्जिनीयरिङ कम्पनीमार्फत भइरहेको छ।

प्रकाशित मिति: १४:२६ बजे, बिहीबार, चैत ७, २०७५