Kathmandu Press

संसदीय अनुमोदनबिना नै अन्सारी मुस्लिम आयोगको अध्यक्ष नियुक्त

काठमाडौं, चैत ७ : विवादमा मुछिएका समिममिया अन्सारी संसदीय समितिको अनुमोदनबिना नै मुस्लिम आयोगको अध्यक्ष नियुक्त भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डार....

संसदीय अनुमोदनबिना नै अन्सारी मुस्लिम आयोगको अध्यक्ष नियुक्त
रासस

काठमाडौं, चैत ७ : विवादमा मुछिएका समिममिया अन्सारी संसदीय समितिको अनुमोदनबिना नै मुस्लिम आयोगको अध्यक्ष नियुक्त भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार संवैधानिक परिषद्को सिफारिसमा उनलाई मुस्लिम आयोगको अध्यक्ष नियुक्त गरेकी हुन् ।

राष्ट्रपतिको उपस्थितिमा राष्ट्रपति कार्यालय, शीतल निवासमा आजै आयोजित विशेष समारोहमा मियासहित आयोगका नवनियुक्त अध्यक्षहरूलाई प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले पद तथा गोपनीयताको शपथ गराए।

संसदीय सुनुवाइ समितिले मियाकाे याेग्यतामा गम्भीर प्रश्न उठाएर उनकाे नाम अनुमाेदन गरेकाे थिएन । संसदीय समितिमा रहेको नागरिकताको प्रतिलिपिअनुसार उनको जन्ममिति २०३० साल असोज २४ गते हो तर जिल्ला प्रशासन कार्यालय, काठमाडौंको ढड्डा (अभिलेख) मा भने उनको जन्ममिति २०३७ असोज २४ रहेको पाइएको थियाे । 
समितिले उनको शैक्षिक योग्यतामा पनि आशंका व्यक्त गरेको थियाे । 

भारतको बिहार राज्यको मगध विश्वविद्यालयअन्तर्गत पटनाको एक कलेजबाट समाजशास्त्रमा सन् २००४ मा प्रथम श्रेणीमा अनर्स गरेका थिए । त्रिभुवन विश्वविद्यालयबाट त्यसको इक्विभ्यालेन्ट (समकक्षता) प्रमाणपत्र चाहिँ १४ वर्षपछि २०७५ साल कात्तिकका मात्र निकालेको छ ।  एसएलसी, आईएको पनि प्रमाणपत्र सबै  विहारकै रहेको छ ।स‌सदीय सुनुवाइ समितिमा उनी अध्यक्षका लागि अयोग्य रहेको भन्दै विरोध भएको थियो । त्यसपछि संसदीय समितिले अनुमोदन गरेको थिएन । 

४५  दिनभित्र समितिले  अस्वीकार नगरेमा नियुक्त गर्नसक्ने व्यवस्था अन्तर्गत उनी  नियुक्त भएका हुन् । उनीसहित पाँच संवैधानिक आयोगका अध्यक्षलाई राष्ट्रपति भण्डारीले नियुक्त गरेकी हुन्। सुनुवाइ समितिले चार जनाकाे मात्र नाम अनुमाेदन गरेर नियुक्तिका लागि राष्टपतिलाइ लेखी पठाएकाे थियाे ।

राष्ट्रपतिले संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रिय प्राकृति स्रोत तथा वित्त आयोगको अध्यक्षमा बालानन्द पौडेल, राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा डा.शान्तराज सुवेदी, मधेसी आयोगको अध्यक्षमा विजयकुमार दत्त र थारु आयोगको अध्यक्षमा विष्णुप्रसाद चौधरी नियुक्त गरेकी छन्।

सपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री भानुभक्त ढकाल, उपसभामुख शिवमाया तुम्वाहाम्फे, संवैधानिक अङ्ग र सुरक्षा निकायका प्रमुख तथा नेपाल सरकारका विशिष्ट श्रेणीका पदाधिकारीको उपस्थित थिए।

प्रकाशित मिति: १२:१८ बजे, बिहीबार, चैत ७, २०७५