Kathmandu Press

प्रधानमन्त्रीले दिए १० हजार कित्ता सेयरका लागि आवेदन

काठमाडौं, चैत ७ : प्रधानमन्त्री केपी शर्मा ओलीले  ‘जनताको जलविद्युत कार्यक्रम’ अन्तर्गत त्रिशूली–३ ‘बी’को सेयर खरिद....

प्रधानमन्त्रीले दिए १० हजार कित्ता सेयरका लागि आवेदन
प्रधानमन्त्रीको ट्वीटरबाट

काठमाडौं, चैत ७ : प्रधानमन्त्री केपी शर्मा ओलीले  ‘जनताको जलविद्युत कार्यक्रम’ अन्तर्गत त्रिशूली–३ ‘बी’को सेयर खरिदका लागि आवेदन दिएका छन्।

त्रिशुली–३‘बी’ आयोजना ‘जनताको लगानी’ कार्यक्रमअन्तर्गत निर्माण गरिन लागेको छ । ‘नेपालको पानी, जनताको लगानी, हरेक नेपाली विद्युतको शेयरधनी’अभियानमार्फत सेयर खरिदका लागि आवेदन खुल्ला गरिएको हो। त्यही अन्तर्गत प्रधानमन्त्री केपी ओलीले बिहीबार १० हजार कित्ता सेयर खरिदका लागि आवेदन दिएका हुन्। 

प्रधानमन्त्रीले ट्वीटमार्फत भनेका छन, ‘भर्खरै मैले १० हजार कित्ता सेयर खरिद आवेदन दिएँ। आफ्नो देश आफैं बनाउन म देशभित्र र बाहिर रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाइमा आह्वान गर्दछु।’

सरकारले फागुन २ गते घोषणा गरेको ‘जनताको जलविद्युत’ अन्तर्गत त्रिशुलीको आइपीओ खुलेको हो । पहिलो किस्ता अन्तर्गत लगानीकर्ताले आवेदनका साथ खरिद गर्न प्रतिबद्धता गरेको रकमको १०% बुझाउनुपर्छ । बाँकी ९०% रकम आयोजना निर्माणको कम्तिमा ७५% भौतिक प्रगति हासिल भएपछि मात्रै दोस्रो किस्तामा बुझाउनुपर्ने व्यवस्था छ ।

त्रिशुली जलविद्युत आयोजनाको कुल क्षमता ३७ मेगावाट रहेको छ । सरकारले जनताको जलविद्युत कार्यक्रम अन्तर्गत ६ खर्ब ९५ अर्ब ८० करोड रुपैयाँ लागतमा १९ वटा आयोजना निर्माण गर्ने लक्ष्य लिएको छ ।

कम्पनीले ३७ करोड ५ लाख रुपैयाँ बराबरको ३७ लाख ५ हजार कित्ता आइपीओ निष्कासन गरेको हो । यसमध्ये १ लाख ११ हजार १ सय ५० कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको छ । यो कुल सेयर कित्ताको ३% हो । बाँकी ३५ लाख ९३ हजार ८ सय ५० कित्ता सेयरमा भने सर्वसाधारणले आवेदन दिन पाउनेछन् । 

कम्पनीको सेयरमा पहिलो चरणमा प्रतिकित्ता १० रुपैयाँ तिरेर  आवेदन दिन सकिने छ । प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँ भए पनि बाँकी रकम कम्पनीले दोस्रो चरणमा माग गर्नेछ । यो आइपीओमा चैत ११ गतेसम्म आवेदन दिन सकिनेछ । यस अवधिमा आवश्यक मात्रामा आवेदन नपरेमा वैशाख ६ गतेसम्म भर्न सकिनेछ ।

त्रिशुलीको यस आइपीओमा ग्लोबल आइएमई क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ । लगानीकर्ताले न्यूनतम १ सय कित्ता देखि अधिकतम १० हजार कित्ता सम्मका लागि आवेदन दिन सक्नेछन् । यसमा आइपीओमा सि–आस्वा मार्फत आवेदन दिन सकिनेछ ।

 

 

प्रकाशित मिति: १०:५१ बजे, बिहीबार, चैत ७, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्