‘जनताको जलविद्युत’को सेयर किन्न प्रधानमन्त्रीले खोले खाता
काठमाडौं, चैत ६ : ‘जनताको जलविद्युत कार्यक्रम’ घोषणा समारोहमा पहिलो सेयर खरिद गर्ने घोषणा गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसका लागि....

काठमाडौं, चैत ६ : ‘जनताको जलविद्युत कार्यक्रम’ घोषणा समारोहमा पहिलो सेयर खरिद गर्ने घोषणा गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसका लागि दुइटा डिम्याट खाता खोलेका छन्।
माथिल्लो त्रिशुली ‘थ्रीबी’ जलविद्युत् आयोजनाको सेयर खरिदका लागि बिहीबारदेखि आवेदन खेल्दैछ । त्यसका लागि लागि प्रधानमन्त्री ओलीले दुई खाता खोलेका हुन् । उनले ग्लोबल आईएमई क्यापिटल र नेपाल डिपी लिमिटेडमा खाता खोलेको जनाएको छ।
जनताको जलविद्युत कार्यक्रमअन्तर्गत माथिल्लो त्रिशूली ‘थ्रीबी’का पहिलो सेयर आवेदन खुल्न लागेको हो । ३७ मेगावाट क्षमताको आयोजनाले पहिलो चरणमा सर्वसाधारणका लागि सेयर खुल्ला गर्न लागेको हो । ४९ प्रतिशत जनताको सेयर सुनिश्चित गर्न तथा शुरुआतमा १० प्रतिशत सेयर दिने गरी एक खर्ब रुपैयाँ बराबरको विभिन्न १९ आयोजनाको शेयर सर्वसाधारणलाई दिइने घोषणा गरिएको थियो।
त्यहि आधारमा कम्पनीको जारी पूँजी दुई अर्ब ४७ करोड रुपैयाँको १५ प्रतिशत अर्थात ३७ करोड पाँच लाख बराबरको एक सय रुपैयाँ अंकित दरको ३७ लाख पाँच हजार साधारण सेयर वितरण गरिने छ । जसमध्ये तीन प्रतिशत कम्पनीका कर्मचारीका लागि छुट्याई बाँकी ३५ लाख ९३ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागिएको हो।
बिहीबार खुल्ने सेयर छिटोमा चैत १२ र ढिलोमा वैशाख ६ गतेसम्म आवेदन दिन पाउने व्यवस्था मिलाइएको छ । एक व्यक्तिले बढीमा एक हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ।











