नेपालमा कोरोना संक्रमितको जीन अध्ययन शुरु
काठमाडौं, असार १६ : नेपालमा कोरोना भाइरसको अनुवंश (जीन सिक्वेन्सिङ) को अध्ययन शुरु गरिएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले नेपाली वैज्ञानिक र अनु....

काठमाडौं, असार १६ : नेपालमा कोरोना भाइरसको अनुवंश (जीन सिक्वेन्सिङ) को अध्ययन शुरु गरिएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले नेपाली वैज्ञानिक र अनुसन्धान कर्ताबाट कोरोना संक्रमितमा रहेकाको जीनको अध्ययन थालेको हो।
परिषद्का कार्यकारी निर्देशक डा. प्रदीप ज्ञवालीले नेपालमा संक्रमितमा रहेको जीन कस्तो प्रकारको रहेको भनेर अध्ययन गर्न शुरु भएको बताए। कोभिड–१९ का विभिन्न जीन रहेकाले अध्ययनबाट नेपालमा रहेको कुन जीन हो भन्ने पत्ता लगाइने छ।
परिषद्ले यसका लागि काठमाडौं विश्वविद्यालयसँग सम्झौता गरेर प्रक्रिया अगाडि बढाएको छ। यसैगरी त्रिभुवन विश्वविद्यालय र अन्य निजी प्रयोगशालासँग पनि सम्झौता गर्ने तयारी गरेको छ। जीनको अध्ययनका लागि काठमाडौं विश्वविद्यालयले उपकरण समेत खरिद गरेर ल्याइसकेको जनाइएको छ। परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा. मेगनाथ धिमालले अध्ययनबाट कोरोना भाइरसको कति शक्तिशाली रहेछ भन्ने पत्ता लाग्ने बताए।
जीन सिक्वेन्सिङका लागि अहिले प्रयोगशालाको परीक्षण, संक्रमित व्यक्तिको संकलित नमूना संकलन गर्ने कार्य भइरहेको छ। “जीनको अध्ययनले भाइरस कस्तो रहेको छ भन्ने थाहा हुन्छ ’’ उनले भने, “भाइरस पत्ता लागेपछि कोभिड १९ विरुद्धको भ्याक्सिन बनेपछि प्रयोग गर्न सकिन्छ।’’ सवै देशले आफ्नो देशमा संक्रमित व्यक्तिमा भएको भाइरस कस्तो छ भनेर जीन सिक्वेन्सी गरिरहेका छन्।
परिषद्ले शुरुमा १५ जना संक्रमितको जीनको अध्ययन गर्ने छ र यसपछि ५० देखि ६० जनाको गर्ने छ। उनका अनुसार फरक फरक देशबाट आएका मानिसको जीनको अध्ययन गरिने छ। 'हामीले फरक फरक देशबाट आएका संक्रमित व्यक्तिको जीन अध्ययन गर्ने छौं ' उनले भने, 'जीन सिक्वेन्सिङले कुन देशबाट आएका मानिसमा कस्ता प्रकारको भाइरसको जीन छ भन्ने पत्ता लगाउँछ।'
अध्ययनबाट कोभिड १९ को संक्रमणले मानिसको रगतमा कुन कुन चीज उत्पन्न भएको छ भनेर पनि पत्ता लाग्ने छ। नेपालका संक्रमित रहेका मध्ये ९८ प्रतिशत कोभिड १९ को मेडिकल लक्षण चिह्न (क्लिनिकल साइन सिन्ट्रोम) नभएको पाइएको अवस्थामा अध्ययनले कुन प्रकारको जीनको कारणले यहाँका मानिसमा संक्रमण रहेको र भाइरसको कुन चाहिँ जीन नेपालमा बढी रहेको भन्ने कुरा थाहा हुनेछ।
उनले जीनको अध्ययनपछि गुणस्तरिय छ कि छैन भनेर परीक्षण गर्नका लागि विश्व स्वास्थ्य संगठनको स्वीकृतमा विदेश रहेका प्रयोगशालामा समेत परीक्षण गरिने बताए। उनका अनुसार १० प्रतिशत नमूना विदेशी प्रयोगशालामा समेत पठाइने छ।









![श्रम शोषणविरुद्ध डाक्टरहरु सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-13_070d419d-1784374654.jpg)

