माथिल्लो त्रिशूली 'थ्रीए’बाट बैशाखदेखि विजुली उत्पादन
काठमाडौं, चैत ५ : नेपाल विद्युत प्राधिकरणले रसुवा र नुवाकोटमा निर्माण गरिरहेको माथिल्लो त्रिसुली 'थ्रीए’ जलविद्युत आयोजनाको ३० मेगावाट (पहिल....
काठमाडौं, चैत ५ : नेपाल विद्युत प्राधिकरणले रसुवा र नुवाकोटमा निर्माण गरिरहेको माथिल्लो त्रिसुली 'थ्रीए’ जलविद्युत आयोजनाको ३० मेगावाट (पहिलो युनिट) विद्युत् आगामी १७ वैशाखदेखि आउने भएको छ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको उपस्थितिमा सोमबार बसेको आयोजना व्यवस्थापन, परामर्शदाता, मुख्य संरचना र प्रसारण लाइन निर्माणको जिम्मा पाएका ठेकेदार कम्पनीहरूको बैठकले पहिलो युनिटबाट १७ वैशाखभित्रै विद्युत् उत्पादन शुरु गर्ने निर्णय गरेको हो । ‘पहिलो युनिटबाट १७ वैशाखभित्रमा र दोस्रो युनिटबाट १५ असार (३० जुन २०१९)बाट विद्युत उत्पादन गर्ने गरी आयोजनाको काम सम्पन्न गर्न ठेकेदार कम्पनीहरूले प्रतिवद्धता जनाएका छन । विभिन्न समस्या झेल्दै आएको आयोजना ऊर्जा मन्त्रालय र प्राधिकरणको निरन्तरको प्रयासबाट सम्पन्न हुने अवस्थामा पुगेको छ’, कार्यकारी निर्देशक घिसिङले भने।
उनका अनुसार, यसबाट एकातर्फ काठमाडौं उपत्यकाबाट नजिक रहेकाले यहाँको विद्युत माग र आपूर्तिको व्यवस्थापनको लागि आयोजना योगदान महत्वपूर्ण रहने छ भने अर्कोतर्फ त्रिशूली नदी बेसिनमा निर्माण भइरहेका जलविद्युत आयोजनाको विद्युत काठमाडौं उपत्यकामा ल्याउन प्रसारण लाइनको पूर्वाधार पनि तयार भएको छ । ६० मेगावाटको आयोजनामा ३०÷३० मेगावाटका दुईवटा युनिटहरु रहेका छन् । ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले केही अघि आयोजनाको स्थलगत निरीक्षण गरी तोकिएको समयमै काम सम्पन्न गर्न आयोजना प्राधिकरण, आयोजना व्यवस्थापन र ठेकेदार कम्पनीहरूलाई निर्देशन दिएका थिए।
शुक्रबारबाट आयोजनाको बालुवा थिग्य्राउने पोखरीभन्दा बाहिर रहेका बाँध, त्यहाँ रहेका गेटलगायतका संरचनाको परीक्षण भइरहेको छ । यो काम चैत ११ गतेभित्र सक्ने समय तालिका तय गरिएको छ । त्यसपछि वैशाख २ गतेसम्म बालुवा थिग्य्राउने पोखरी, मूख्य सुरुङलगायतका संरचनाको ड्राई तथा बेट टेस्ट गरिने जनाएको छ।
त्यस्तै, बैशाख २ गतेदेखि विद्युत गृहमा रहेको जेनेरेटरलगायतका उपकहरण, पानी निकास सुरुङको ड्राई तथा बेट टेस्ट सम्पन्न गरी १७ वैशाखदेखि पहिलो युनिटबाट विद्युत उत्पादनको लक्ष्यका साथ काम भइरहेको आयोजना प्रमुख फडिन्द्रराज जोशीले जानकारी दिए । ‘अहिले हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकलका उपकरणहरूको जडान र परीक्षण गर्ने काम भइरहेको छ,’ जोशीले भने, ‘प्रसारण लाइन पनि वैशाख १७ अगाडि नै तयार पार्न ठेकेदार कम्पनीलाई निर्देशन दिएका छौं।’
आयोजनास्थलबाट काठमाडौंको मातातीर्थसम्मको २२० केभी प्रसारण लाइनको निर्माण चाइना इन्टरनेशनल वाटर एण्ड इलेक्ट्रिक कर्पोरेसनले गरिरहेको छ । मातातीर्थमा १३ सय मिटर प्रसारण लाइनलाई भूमिगत गरिएको छ । कम्पनीसँग दुई करोड २६ लाख अमेरिकी डलरमा ठेक्का सम्झौता भएको थियो । कुल अनुमानित लागत १२ करोड ५८ लाख डलर रहेको आयोजना नेपाल सरकार एवं प्राधिकरणको लगानी र चिनियाँ एक्जिम बैकको सहुलितपूर्ण ऋणमा रहेको छ।
इन्जिनियरिङ, खरिद र निर्माण (इपिसी) मोडलमा सिभिल विद्युत्गृह, बा“ध, सुरुङलगायतका संरचना र इलेक्ट्रोमेकानिकल तथा हाइड्रो मेकानिकलको काम गर्न चाइना गेजुवा ग्रुप अफ कम्पनीज (सिजिजिसी)स“ग २०६७ जेठ १४ मा ठेक्का सम्झौता भएको थियो । २०७१ जेठ १७ गतेसम्म निर्माण सक्ने गरी सिजिजिसीस“ग आठ करोड ९१ लाख ७८ हजार डलरमा ठेक्का सम्झौता भएको थियो । विगतमा विद्युत गृह भूमिगत बनाउने या सतही बनाउने विवाद, क्षमता बढाउने निर्णयलगायतका कारणले आयोजनाको निर्माण ढिलाइ भएपछि म्याद २०७३ असार १६ असारसम्म थपिएको थियो।
भूकम्पले गर्दा आयोजनाको निर्माण तालिका झनै प्रभावित भएको थियो । भूकम्प र पहिरोले काबु बाहिरको परिस्थिति (फोर्स मेजर) उत्पन्न भएपछि प्राधिकरणले आयोजनाको म्याद २०७६ बैशाख १७ गतेसम्म थप गरेको थियो । भूकम्प र पहिरोले बाँध स्थलको दायाँ–बायाँ र प्रवेश मार्गको विभिन्न स्थानमा क्षति पुर्याएको थियो । सरकारले पहिरोको रोकथाम र सडक मर्मतको जिम्मा नेपाली सेनालाई दिएको थियो।











