सरकारी जग्गा व्यक्तिको नाममा गर्ने आठ कर्मचारी पक्राउ
नेपालगञ्ज, चैत ५ : सरकारी जग्गालाई व्यक्तिको नाममा गरेको आरोपमा बाँके र बर्दियाका आठ कर्मचारी पक्राउ परेका छ । बाँके जिल्ला प्रहरी कार्यालयको टोलीले भ....
नेपालगञ्ज, चैत ५ : सरकारी जग्गालाई व्यक्तिको नाममा गरेको आरोपमा बाँके र बर्दियाका आठ कर्मचारी पक्राउ परेका छ । बाँके जिल्ला प्रहरी कार्यालयको टोलीले भूमिसुधार तथा मालपोत कार्यालयका कर्मचारीलाई पक्राउ गरेको हो।
उनीहरूलाई सोमबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ । कीर्ते कागजात बनाएर सरकारी जग्गा व्यक्तिको नाममा गरेको पाइएपछि नियन्त्रणमा लिइएको बाँके जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अरुण पौडेलले बताए।
उनका अनुसार, बाँके मालपोत कार्यालयका नायव सुब्बा रुद्र देवकोटा, टङ्क शर्मा, रामबहादुर खड्का, कम्प्युटर अपरेटर यज्ञश्वर वली, प्रेम चन्द र बर्दिया मालपोत कार्यालयका नायव सुब्बा कृष्णलाल शर्मा र खरिदार भूमीराज पोखरेल पक्राउ परेका हुन्।
त्यस्तै, हुलाक कार्यालयमा कार्यरत अधिकृत पुष्पा श्रेष्ठलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । उनी यस अघि बाँके मालपोत कार्यालयमा कार्यरत थिइन्।
उनीहरूमाथि अनुसन्धान भइरहेको एसपी पौडेलले बताए । प्रारम्भिक अनुसन्धानमा सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको खुलेको उनले बताए।
केही दिन अघि प्रहरीले सरकारी जग्गालाई व्यक्तिको नाममा गर्ने गिरोह पक्राउ गरेको थियो । सोही गिरोहले दिएको बयानका आधारमा सरकारी कर्मचारीलाई पक्राउ गरिएको जनाएको छ।
उनीहरूले व्यक्तिका नाममा नामसारी गरेको सरकारी जग्गाका विषयमा खुलाएको छैन् । अनुसन्धान जारी रहेकाले धेरै कुरा नखोलिएको प्रहरीले जनाएको छ।






