जबजको आलोकमा समृद्धि हासिल गर्न सकिन्छ : मुख्यमन्त्री पौडेल
हेटौंडा, असार १४ : वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले जननेता मदन भण्डारीद्वारा प्रतिपादित ‘जनताको बहुदलीय जनवाद’ (जबज)ले कम....

हेटौंडा, असार १४ : वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले जननेता मदन भण्डारीद्वारा प्रतिपादित ‘जनताको बहुदलीय जनवाद’ (जबज)ले कम्युनिष्ट आन्दोलनलाई युग र माटो सुहाउँदो गरी नयाँ उचाइमा पु¥याएको बताएका छन्।
उनले भने, 'जबजले समाजिक न्याय, समानता र समृद्धिका लागि आज पनि दिशानिर्देश गरिरहेको छ।' जननेता भण्डारीको ६९औं जन्मजयन्तीका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उनले जबज सिद्धान्तको आलोकमा कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रिकीरण गरेको जनाएका छन्।
सन्देशमा भनिएको छ, 'आज नेपाल कम्युनिष्ट पार्टी ‘प्रतिस्पर्धा र श्रेष्ठता’ नीतिअनुसार जनताको लोकप्रिय मत प्राप्त करीब दुई तिहाइको सरकारको नेतृत्व गरिरहेको छ। सुखी नेपाली, समृद्ध नेपाल निर्माणको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न अथक प्रयत्नरत छ। यसर्थ हिजोका राजनीतिक अधिकार प्राप्तिको आन्दोलनमात्र होइन, आजको निर्माण र समृद्धिको आन्दोलनमा समेत जबजले मार्गदर्शन गरिरहेको छ। जबज जडसूत्रवाद होइन। मार्क्सवादको सिर्जनात्मक विकासको अत्यन्त सफल सिद्धान्त हो। जबजकै आलोकमा समृद्धिको सपनालाई यथार्थतामा बदल्न सकिन्छ।'
सामाजिक न्याय र जनअधिकारका मुद्दाहरुलाई संविधानमा सम्बोधन गरिएको, राजनीतिक स्थिरताको सुनिश्चिता भएको उल्लेख गर्दै सन्देशमा यी सबै जननेता भण्डारी र उनकै विचारको देन हो भनिएको छ।











