एनएचआरसीले राष्ट्रिय प्रयोगशालासँग विदेश पठाउन माग्यो कोरोना संक्रमितका १५ नमूना
काठमाडौं, असार १३ : नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)ले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँग विदेश पठाउन कोरोना संक्रमितका १५ वटा ....

काठमाडौं, असार १३ : नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)ले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँग विदेश पठाउन कोरोना संक्रमितका १५ वटा नमूना मागेको छ।
कोरोनाका पहिलो संक्रमितको स्वाबको नमूना अध्ययनका लागि हङकङ पठाएको भन्दै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका पदाधिकारी लगायतसँग स्पष्टिकरण मागेको नेपाल स्वास्थ्य एनएचआरसीले सोही प्रयोजनका नमूना माग गरेको हो।
एनएचआरसीले अध्ययनका लागि हङकङ पठाउने प्रयोजनका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँग १५ जना संक्रमतिको नमूना मागेको हो। गत माघ ५ गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले चीनको वुहानबाट फर्किएका विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएपछि उनको स्वाब थप अध्ययनका लागि विश्व स्वास्थ्य संगठनको डेजिगनेटेड सेन्टरमा पठाएको थियो।
तर, एनएचआरसीले वैशाख २९ नियम विपरीत प्रयोगशालाले संक्रमितको नमूना हङकङ पठाएको भन्दै प्रयोगशालाकी निर्देशक डा. रुणा झासहित ६ जनालाई स्पष्टिकरण मागेको थियो।
अहिले पुनः एनएचआरसीले संक्रमित, बृद्ध, बच्चा, युवा, महिला, मृतक लगायत गरी कुल १५ वटा नमूना प्रयोगशालासँग मागेको छ। ‘नेपालमा देखिएको भाइरसको प्रकृति लगायतका विषयमा अध्ययनका लागि हङकङ पठाउने तयारी भइरहेको छ,’ एनएचआरसी स्रोतले भन्यो, ‘१५ जनाको नमूना प्रयोगशालासँग मागिएको छ।’
तर, प्रयोगशालाले भने एनएचआरसीलाई नमूना उपलब्ध गराउन नमानेको स्रोतको भनाइ छ। ‘पहिले अध्ययनकै लागि नमूना पठाउँदा स्पष्टिकरण सोध्ने एनएचआसीलाई सोही प्रयोजनका लागि नमूना उपलब्ध नगराउने प्रयोगशालाको अडान छ,’ स्रोतले भन्यो।
माघमा प्रयोगशालाको नेश्नल इन्फ्लुएन्जा सेन्टर, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले नमूनाको अध्ययनका लागि हङकङस्थित डब्ल्युएचओको डेजिगनेटेड सेन्टरमा पठाएको थियो।
आफ्नो क्षेत्राधिकार बाहिर रहेर प्रयोगशालाले नमूना पठाएको भन्दै स्पष्टिकरण सोधेपछि प्रयोगशालाका निर्देशक झासहित ६ जनाले जेठ ४ गते नै स्पष्टिकरण पत्र बुझाइसकेका छन्।
उनीहरुले बुझाएको स्पष्टिकरण पत्रमा भनिएको छ, ‘१९ जनवरीमा परीक्षणका लागि हङकङ पठाइएको हो। २०६६ फागुन १४ गते नेश्नल इन्फ्लुएन्जा सेन्टर स्थापना भएलगत्तै नेपाल ग्लोबल इन्फ्लुएन्जा सर्भिलेन्स नेटवर्कमा आवद्ध भएको हो। जसअन्तर्गत रहेर सदस्य राष्ट्रहरुले महामारी गराउन सक्ने नमूना र भाइरस शेयर गर्न पाउँछन्।’
स्पष्टिकरण पत्रमा विकासान्मुख राष्ट्रहरुलाई भ्याक्सिन तथा अन्य महामारीसँग लड्ने औषधिबारेमा यस्ता अध्ययन अनुसन्धानले सहयोग पु¥याउने दाबी गरिएको छ। ‘नमूना संकलन गर्ने र संकलित नमूना सेयर गर्ने कार्य नेश्नल इन्फ्लुएन्जा सेन्टरमार्फत नै हुने व्यवस्था छ। यसका लागि अनुसन्धान परिषद्को स्वीकृति लिनु पर्दैन,’ पत्रमा भनिएको छ।
नेपालको पहिलो नमूना डब्लुएचओको डेजिगनेसन सेन्टरले आफ्नो टर्म अफ रिफरेन्स अनुसार भाइरसको सिक्वेन्सिङ गरी ग्लोबल इनिसियटिभ अन सेयरिङ इन्फ्लुएन्जा अल (जिआईएसएआईडी) को वेबसाइटको डाटाबेसमा राखेको छ। यसरी राखिएको डाटा प्रयोगशालाकै नाममा सुरक्षित रहने र नेपालको अनुमतिबिना कसैले पनि पेटेन्ट अधिकार नपाउने स्पष्टिकरण पत्रमा उल्लेख छ।
‘अनुसन्धानकर्ताले भने स्वीकृति लिएर सम्बन्धित प्रयोगशालालाई श्रेय दिई अनुसन्धान गरी वैज्ञानिक खोज पत्रिका एवं रिसर्च जर्नरलहरुमा प्रकाशन गर्न सकिन्छ,’ स्पष्टिकरणमा भनिएको छ, ‘नेपालले पठाएको नमूनाको अध्ययन गरी लेखिएको लेख प्रतिष्ठित जर्नलमा प्रकाशित भएका छन्। यस्तै, यो मात्र होइन विगतमा पनि नेपाली र विदेशी वैज्ञानिकले सहकार्य गरी लेखेका यस्ता सयौं लेख विभिन्न जर्नलमा प्रकाशित भइसकेका छन्।’
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले चासो राखेको नमूना प्रयोगशालाले आफ्नो अधिकार प्रयोग गरी कर्तव्य मात्र पूरा गरेको उनीहरुको भनाइ छ।
प्रयोगशाला र एनएचआरसीबीच पछिल्लो समय नमूनाको अध्ययन अनुसन्धानका विषयमा मतभेद देखिएको छ। एनएचआरसीले नमूनाको अध्ययन अनुसन्धान आफ्नो क्षेत्राधिकार पर्ने बताउँदै आएको छ भने प्रयोगशालाले आफू अन्र्तगत नेश्नल इन्फ्लुएन्जा सेन्टर रहेकाले नमूना संकलनसँगै अध्ययन अनुसन्धान पनि गर्न पाउने तर्क गर्दै आएको छ।








-1792413548.jpeg)


