सरकार ठट्टा गर्दैन, हिंसा मच्चाउनेलाई नियन्त्रण गर्छः प्रधानमन्त्री
विराटनगर, चैत ३ : प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसा, हत्या आतंक सिर्जना गर्नेलाई निषेधमात्रै नभएर नियन्त्रण पनि गरिने बताएका छन्।
आइतबार ....
विराटनगर, चैत ३ : प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसा, हत्या आतंक सिर्जना गर्नेलाई निषेधमात्रै नभएर नियन्त्रण पनि गरिने बताएका छन्।
आइतबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गदै नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले विप्लव समूह हत्या हिंसा, लुटपाट, तोडफोड गर्ने एउटा समूहमात्र भएकोले त्यो गतिविधि बन्देज गर्न रोक लगाएको बताए । ‘सरकारको निकायमा दर्ता गरेको संस्थालाई मात्र प्रतिबन्ध लगाइन्छ कसैले नचिन्ने, कही कतै दर्ता नभएको, अनाधिकृत विप्लव समूह एउटा मात्र झुण्ड भएकाले त्यसको गतिविधि नियन्त्रण गर्न रोक मात्र लगाएको हो,’ उनले भने।
उनले विप्लव समूहलाई आह्वान गर्दै भने, ‘सरकार ठट्टा गर्दैन हत्या हिंसा, आतङ्क सिर्जना गरी जनतामा आतङ्कित गर्ने समूहलाई निषेध मात्र होइन नियन्त्रण पनि गर्छ।’
प्रधानमन्त्री ओलीले विप्लव समूहलाई निषेध गर्दा लोकतान्त्रिक पार्टी नेताहरू रुवावासी गर्न थालेको आरोप लगाए । ‘विप्लव समूहलाई निषेध गर्दा नेपालका लोकतान्त्रिक पार्टीका नेताको रुवावासी किन गर्दै छन् ? इतिहासमा जवाफ दिने कुरा गर्नुहुदैन,’ उनले भने।
उनले विप्लव समूहको कुनै एउटा पनि माग सभ्य लोकतान्त्रिक समाजले सुन्न सक्ने खालको नभएकोले अनुचित, गैरसंवैधानिक कार्य गर्न रोक लगाइएको जिकिर गरे।
प्रधानमन्त्री ओलीले विखण्डन, पृथकतावादी सोच विचार भएको सङ्गठन अब नेपालमा समाप्त भएको बताउँदै भने , ‘संविधानलाई स्वीकार गरी सक्रिय राजनीतिमा सिके राउत आउँछु भन्दा अन्य नेताको रुवावासी र छाती पिट्नु के उद्देश्य हो?’
उनले उपयुक्त समयमा मन्त्रिमण्डलले पूर्णता पाउने बताए । ‘रिक्त रहेका मन्त्रालयमा अब पुनःगठन होइन पूर्णता प्रदान गरिने छ,’ उनले भने।






