Kathmandu Press

जनजातिका पर्व विदा कटौती गरेको भन्दै जनजाति संस्थाहरुको विरोध

काठमाडौं, चैत २ : नेपाल आदिवासी जनजाति महासंघले खसआर्य समुदाय र हिन्दू धर्मसँग सम्बन्धित पर्वहरूमा मात्र देशभर सार्वजनिक विदा दिइएको भन्दै विरोध जनाएक....

जनजातिका पर्व विदा कटौती गरेको भन्दै जनजाति संस्थाहरुको विरोध
फाईल फोटो

काठमाडौं, चैत २ : नेपाल आदिवासी जनजाति महासंघले खसआर्य समुदाय र हिन्दू धर्मसँग सम्बन्धित पर्वहरूमा मात्र देशभर सार्वजनिक विदा दिइएको भन्दै विरोध जनाएका छन् । 

महासंघसहित नौ वटा विभिन्न जातीय संस्थाहरुले शनिबार संयुक्त विज्ञप्ति निकालेर २०७६ सालभरी दिइने सार्वजनिक विदामा असहमति जनाएका हुन् ।

सरकारले २०७६ सालमा दिइने सार्वजनिक विदाको सूचना शुक्रबार जारी गरेको थियो । उक्त सूचनामा देशभर १५ दिनमात्र सार्वजनिक विदा दिने उल्लेख छ । 

जनजातिका विभिन्न संस्थाहरुले एउटा धर्म र जातिलाई मात्रै प्रवद्धन गर्नेगरी सार्वजनिक विदा घोषणा गरेको भन्दै असहमति जनाएका छन् ।  ‘एउटै नश्ल, जाति, भाषा, धर्म, संस्कृतिलाई मात्रै संरक्षण, सम्बर्द्धन र प्रबर्द्धन गर्ने गरी सार्वजनिक पर्व एवम् विदा घोषणा गरेकोप्रति कूल जनसंख्याको ३७ प्रतिशत आदिवासी जनताको तर्फबाट हामी घोर भत्र्सना र खेद व्यक्त गर्दछौं’ शनिबार जारी गरिएको सयुक्त विज्ञप्तिमा भनिएको छ, ‘सरकारको यो निर्णयबाट लोकतान्त्रिक धर्मनिरपेक्ष गणतन्त्र नेपालको उपहास भएको, संविधानको मूल मर्म र भावना बिरुद्ध भएको, परिवर्तनको बर्खिलाप भएको र महेन्द्रकालीन पञ्चायती ब्यवस्थाको पुनरावृत्ति भएको छ ।’

विज्ञप्तिमा ३१ प्रतिशत खस आर्य समुदायका लागि ११ दिन विदा दिइएको तर  ३७ प्रतिशत आदिवासी जनजातिका लागि विगतमा दिइँदै आएको ५ दिन सार्बजनिक बिदा पनि पूर्ण रुपले खारेजी गर्नु सामाजिक न्याय र समानताको दृष्टिकोणले कदापि सहृय हुन नसक्नने विज्ञप्तिमा उल्लेख छ । 

माघीमाघे संक्र्रान्ति, उभौली, उद्यौली, तमु ल्होसार, सोनाम ल्होसार, ग्याल्बो ल्होसार, योमरी पुन्हि आदिमा देशभर दिइँदै आएको सार्बजनिक बिदा आगामी बर्षका लागि सरकारले खारेज गरेको छ । 

विज्ञप्तिमा विदा कटौतीको निर्णय फिर्ता लिन आग्रह गर्दै निर्णय फिर्ता नलिए सडक संघर्षमा उत्रिनुको विकल्प नहुने चेतावनी पनि दिइएको छ ।

संयुक्त विज्ञप्तिमा नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष, जगतबहादुर बराम, तमु हृयुल छोंज धीं गुरुङ राष्ट्रिय परिषदका अध्यक्ष रेशम गुरुङ, नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले तामाङ, थारु कल्याणकारिणी सभाका महामन्त्री प्रेमीलाल चौधरी,  नेवाः देय् दबूका अध्यक्ष नरेश ताम्राकार, नेपाल मगर संघका अध्यक्ष नवीन रोका मगर, किरात राई यायोक्खाका महासचिव जनक राई, किरात याक्थुङ चुम्लुङका अध्यक्ष योगराज वनेम लिम्बू र नेपाल शेर्पा संघका वरिष्ठ उपाध्यक्ष लाक्पा शेर्पाले हस्ताक्षर गरेका छन् । 
 

प्रकाशित मिति: १२:५० बजे, शनिबार, चैत २, २०७५